काठमाडौं २२ असार । बाँकेको कोहलपुरमा २ बालिकामाथि बलात्कार घटना प्रहरीकै संलग्नतामा मिलापत्र गरिएको पाइएको छ । कोहलपुर नगरपालिका–१५ का १३ र १५ वर्षीया बालिका गत बुधबार बलात्कारमा परेका थिए । उनीहरूलाई आरोपितले ४ लाख रुपैयाँ दिने गरी घटना गुपचुप राख्न दबाब दिएको बताइएको छ ।
घटना मिलाउन ५० हजार रुपैयाँ तत्काल परिवारको जिम्मा लगाइएको र बाँकी रकम साउन १५ सम्म दिने कागज गरिएको छ ।
अहिले बालिका र परिवारले बलात्कार नभएको दाबी गरेका छन् । बालिकाले पहिला हातपातको प्रयास भएको बताएका थिए । पीडितमध्येकी एक बालिकाले भने अधिकारकर्मीसँग आफू बलात्कारमा परेको सुनाएकी थिइन् । उनका अनुसार दुवै जनालाई मूल सडकबाट अलगअलग ठाउँ लगिएको थियो ।
अधिकारकर्मी महिलासँग बालिकाले आफू बलात्कारमा परे पनि साथीलाई बलात्कार भए/नभएको थाहा नपाएको बताएकी थिइन् । ‘बलात्कारपीडितले आफूलाई दिसापिसाब गर्न पनि गाह्रो भएको सुनाइन्,’ अधिकारकर्मी ती महिलाले भनिन् ।
गत बुधबार मोबाइल बिग्रेर बनाउन हल्दारपुर आएका ती बालिकालाई कोहलपुर–१५ का सुवास परियार र हरि परियारले नास्ता खान भनी होटलसम्म लगेका थिए । नास्ता खाने क्रममा एक बालिका बेहोस भएपछि उपचारका लागि कौस्लिया अस्पताल पुर्याए तर त्यहाँ उपचार नभएपछि दशबिघा लैजाने भन्दै बर्दियाको पचासामा लगी अलपत्र छाडेर भागेको बालिकाहरूले बताए ।
‘साथी एक्कासि बेहोस भएपछि अस्पताल पुर्यायौं । त्यहाँ उपचार नभएपछि दशबिघा लैजान्छु भनेर बर्दिया पुर्याएका थिए,’ एक बालिकाले भनिन्, ‘जति नै रुँदा–कराउँदा पनि मानेनन् । हामी दुईलाई एउटै बाइकमा राखेर एउटाले चलायो र अर्कोले पछाडिबाट समातेर त्यहाँ छाडेर आए ।’
राति २ बजे बर्दिया पुर्याएको र त्यहाँ भारतीय नागरिकले बाटो रोकेर हातपात गर्न खोजेपछि कराउँदा प्रहरी आई उद्धार गरेको पीडित बालिकाले बताए । उनीहरूलाई त्यहाँबाट प्रहरीले कोहलपुर इलाका प्रहरी कार्यालय पुर्याएको थियो ।
पीडक सुवासकी पत्नीले घटना बाहिर ल्याए परिवार नै विष खाएर आत्महत्या गर्ने भनेपछि घटनाबाहिर नल्याएको पीडित पक्षले जनाएको छ । स्रोतका अनुसार इलाका प्रहरी कार्यालय कोहलपुरमा मिलापत्र तयार पार्ने क्रममा वकिल नै बोलाइएको थियो । अहिलेसम्म बालिकाहरूको स्वास्थ्य परीक्षणसमेत गराइएको छैन । इलाका प्रहरी कोहलपुरका डीएसपी रमेश सिंहले बालिकाहरूले आफ्नै सहमतिमा घुम्न गएको भनेपछि ती युवकलाई एक दिन हिरासतमा राखी छाडिएको बताए । कान्तिपुरबाट