गृहमन्त्री रामबहादुर थापा बादलले समग्र शान्तिसुुरक्षालाई थप बलियो बनाई सुरक्षा प्रणालीलाई भरपर्दो र विश्वसनीय बनाइने बताउनुभएको छ ।
राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत गृह मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उहाँले निर्मला पन्तलगायतको हत्यामा संलग्नलाई कानूनी कठघरामा ल्याउने कार्यमा सरकार लागिरहेको बताउनुभयो ।
सुरक्षा निकायको आवश्यकतानुसार मनोबल उच्च बनाउन आवश्यक सुविधा बढाउने व्यवस्था गरिएको जानकारी दिँदै उहाँले कैदीबन्दीलाई तालीम प्रदान गरी काममा लगाउन बजेट विनियोजन भएको जानकारी दिनुभयो ।
गृहमन्त्री थापाले तस्करीलगायत सङ्गठित अपराधविरुद्ध ठूलो सफलतामा हासिल भएको तथा तस्करी र सङ्गठित अपराध घटाउने विषयमा काम भइरहेको बताउनुभयो ।
उहाँले गृहप्रशासन र सुरक्षा निकायमा लामो समयदेखि रोकिएको वृत्ति विकास पुनः सञ्चालन गरिने बताउनुभयो ।
उहाँले स्थानीय सरकारको नेतृत्वमा लागूऔषध रोकथाम र पुनःस्थापना अभियान सञ्चालन गरी हिंसारहित समाज बनाउने अभियान शुरु गरिएको बताउँदै सीमा नाकामा भएका गतिविधिमा निगरानी गर्न क्यामेरा जडान गरिने जानकारी दिनुभयो ।
उहाँले नेपालको संविधान, कानून र देशको मार्गचित्रलाई व्यवस्थित गर्न सरकारले शुरु गरेको राष्ट्रिय परिचयपत्र वितरण दुई वर्षभित्रसम्म सम्पन्न गर्ने योजना रहेको जानकारी दिनुभयो ।