Logo

कुमार पौडेल मृत्यु प्रकरण: प्रहरी मुख्यालयलाई आयोगको तीन दिने म्याद



काठमाडौं २४ असार । राष्ट्रिय मानवअधिकार आयोगले प्रहरीको गोली प्रहारबाट मारिएका कुमार पौडेलको शव परीक्षण (पोष्टमोर्टम) र प्रहरी प्रतिवेदन तीन दिनभित्र बुझाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।

असार पहिलो साता नेत्रविक्रम चन्द विप्लवको दलका सर्लाही जिल्लाका नेता पौडेल भिडन्तमा मारिएको प्रहरीले बताएको थियो।

प्रहरीले नियन्त्रणमा लिएर उनको हत्या गरेको भनि संसद्‍मा समेत कुरा उठेको उक्त घटनाबारे मानवअधिकार आयोगले स्थलगत अनुसन्धान गरेको छ।

पोष्टमोर्टम र प्रहरी प्रतिवेदन दुबै नपाएपछि अनुसन्धान टोलीले ठोस निष्कर्ष बिना नै आफ्नो प्रारम्भिक प्रतिवेदन आइतवार आयोग समक्ष बुझाएको थियो।

म्याद किन?
आयोगको सोमवार बसेको बैठकमा त्यस प्रवेदनबारे छलफल गर्‍यो र तीन दिनको म्याद दिँदै प्रहरी मुख्यालयलाई दुबै प्रतिवेदन बुझाउन निर्देशन दिएको हो। आयोगका सचिव एवम् प्रवक्ता बेद भट्टराईले भने, “अनुसन्धान टोलीले प्रारम्भिक प्रतिवेदन दिएको छ। तर १८ दिन भइसक्दा पनि पोष्टमोर्टम रिपोर्ट र प्रहरी प्रतिवेदन प्राप्त नभएपछि आयोगले प्रहरी प्रधान कार्यालयलाई तीन दिन भित्र ती प्रतिवेदन बुझाउन निर्देशन दिने निर्णय गरेको छ।”

संसद्‍मा सत्ताधारी दल नेकपाका सहितका कैयौं सांसदले पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको भन्दै छानबिनको माग गरेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot