Logo

प्रदिपः विमानको ल्याण्डिङ गियरमा लुकेर लण्डन पुग्ने केटो



काठमाडौं, २४ असार । गत हप्ता लण्डनमा केन्या एयरलाइन्सको विमानबाट खसेर एक व्यक्तिको मृत्यु भयो।मिडिया रिपोर्टका अनुसार यो शव विमानको ल्याण्डिङ गियरमा लुकेर यात्रा गरिरहेका कुनै व्यक्तिको थियो।

यही बीचमा एक यस्ता व्यक्तिको कथा सार्वजनिक भएको छ जो यस्तै यात्रापछि जीवित रहन सफल रहे ।बेलायती मिडिया मिररका अनुसार आजभन्दा २३ वर्ष पहिले एक युवक यसैगरी यात्रा गरेर लण्डन पुगे ।

आश्चर्यजनक रुपमा उनी जीवित थिए । प्रदिप सैनी नामका ती युवकले यसैगरी विमानको ल्याण्डिङ गियरमा लुकेर भारतको दिल्लीदेखि लण्डनसम्म यात्रा गरेका थिए । १९९६ मा यसरी लुकेर दिल्लीबाट लण्डन पुगेका सैनीले अहिले लण्डनमा ड्राइभरको काम गर्छन् ।

करिब ६ हजार ५ सय किलोमिटरको यात्रा विमानको ल्याण्डिङ गियरमा बिताएका सैनी जीवित रहन सफल भए । यो यात्राको क्रममा ब्रिटिस एयरलाइस्नको विमान ४० हजार फिटसम्मको उचाइमा पुग्यो र उनले शून्य बराबर अक्सिजन र माइनस ६० डिग्री सेल्सियस तापक्रमको सामना गरे ।

सैनी आज त्यो यात्रालाई निकै कष्टकर बताउँछन् । त्यतिबेला उनीसँगै उनका भाइ विजय पनि लुकेर गएका थिए तर उनका भाइ विमानबाट खसे र उनको मृत्यु भयो ।

५ दिनपछि उनको शव लण्डनमै भेटियो । त्यतिबेला लण्डन पुग्दा २२ वर्षका प्रदिप बेहोस अवस्थामा भेटिएका थिए । उनलाई अस्पतालमा भर्ना गरियो जहाँ आश्चर्यजनक रुपमा डाक्टरलाई चकित पार्दै उनले स्वास्थ्यलाभ गरेका थिए ।

पछि उनलाई बेलायतबाट निकाल्ने प्रयास भएपछि उनले धेरै लामो कानुनी लडाइ लड्नुपर्यो । अन्ततः अदालतले १८ वर्षपछि २०१४ मा उनलाई लण्डनमै बस्न अनुमति दियो । त्यहाँ जानुभन्दा पहिले उनी पंजाबमा कार मेकानिकको काम गर्थे ।



प्रतिक्रिया दिनुहोस्