Logo

वर्षकै सर्वाधिक वर्षा, बाँके डुबानमा



काठमाडौं २५ असार । मंगलवार बिहानैदेखि परेको अविरल वर्षाका कारण बाँके जिल्लाका सहरी र ग्रामीण क्षेत्र डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ, खजुरालगायत गाउँपालिकाका विभिन्न क्षेत्रमा वर्षाको पानी निकास नहुँदा स्थानीयको घरभित्रै पानी पसेको हो । कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

ढल तथा नालाको निकास थुनिँदा नेपालगन्ज उपमहानगरपालिकाका रानी तलाउ, महेन्द्र स्कुल रोड, महेन्द्रपार्क क्षेत्र, घरबारीटोल, बेलासपुर, न्यूरोड, गणेशपुर, बाँकेगाउँ, कोरियनपुर, भृकुटीनगर, कारकाँदो, राँझालगायत क्षेत्र जलाम्य भएका थिए । जिल्ला प्रहरी कार्यालय आसपासका क्षेत्रमा पनि वर्षाको पानी जमेको थियो ।

यस्तै कोहलपुर नगरपालिकाको वडा नं. १० चटार, १३ नं. सिमरी, १४ नं. हवलदारपुर, भरैया, १५ नं. को पर्सेनीपुर गाउँमा डुबानमा परेका थिए । खजुरा गाउँपालिकामा पर्ने पेडारी नाला बढेर सडकबाटै बग्दा सर्वसाधारणलाई ओहोरदोहोर गर्न समस्या भएको थियो ।

मंगलवार नेपालगन्जमा यस वर्षकै सर्वाधिक वर्षा भएको बताइएको छ । जल तथा मौसम विज्ञान विभागको हावापानी फिल्ड कार्यालय राँझाका अनुसार नेपालगन्जमा १६३.६ मिलिमिटर वर्षा भएको हो । जुन देशभर भएकोे वर्षामा सर्वाधिक हो ।

कुनै पनि जिल्लामा एक सय मिलिमिटरभन्दा बढी वर्षा भएको थिएन । ८ असारमा यसअघि १६० मिलिमिटर वर्षा भएको थियो । यो वर्षाले नरैनापुर गाउँपालिकाका चार वडामा अलि बढी डुबान समस्या भएको थियो । अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्