काठमाडौं २५ असार । नेपालको प्रतिनिधित्व गर्दै गएका राजदूतका गतिविधि विवादमा आउन थालेपछि अब परराष्ट्र मन्त्रालयले उनीहरुको कार्यसम्पादनको नियमति मुल्यांकन गर्ने भएको छ । त्यसका लागि रिपोर्टिङ गरिराख्ने खालको संयन्त्र निर्माण गरिने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
राजदूतहरुलाई बढ्ता जिम्मेवार बनाउनका लागि यस्तो संयन्त्र बन्न लागेको हो । ‘कतिपय राजदूतहरुले इमानदारिता राम्ररी ननिभाउँदा मुलुकले लज्जा ब्योहोर्नुपरेको छ,’ नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालद्वारा सम्पादित राजदूतहरुको अनुभावमा आधारित ‘नेपालको कुटनीति अभ्यास’ पुस्तकको मंगलबार राजधानीमा विमोचन गर्दै मन्त्री ज्ञवालीले भने, ‘कार्यसम्पादको नियमति मिल्यांकन गर्ने पद्धति सुरु गर्ने तयारी छ, अब नियमित रिपोर्टिङ गर्नुपर्नेछ ।’
मन्त्री ज्ञवालीले परराष्ट्र मामिलाको आयाम परिवर्तन भएकाले अबका राजदूतहरुले त्यस अनुसार काम गर्नुपर्ने बताए । विगतमा संक्रमण टुंग्याउन, शान्ति ल्याउने सन्दर्भमा केन्द्रित भए पनि अहिले त्यस्तो नभई आर्थिक विकासलाई टेवा पुर्याउने खालका काममा केन्द्रित हुनुपर्ने अवस्था आएको मन्त्री ज्ञवालीले बताए ।
उनले ठूला मुलुकहरुले विश्वको ‘अर्डर’ नै आफू अनुसार मिलाउन सक्ने तर, त्यो क्षमता सान मुलुकमा नहुने बताए । साना मुलुकको अन्तराष्ट्रिय अर्डर मिलाउन सक्ने क्षमता नहुने भएकाले राष्ट्रिय स्वार्थमा मात्र केन्द्रित हुनुपर्ने उनका धारणा थियो ।
उनले नेपाल जस्तो मुलुक कुनै पनि एलायन्समा नरहेन र सबै संग मित्रताको हिसाबले मात्र सम्बन्ध राख्दै जाने बताए । ‘कहिलेकाही मिडियामा बिष्लेषणहरु आउछन्, तर ती बिष्लेषणहरुबाट तर्सिनुपर्दैन’ उनले भने,‘हाम्रो राष्ट्रिय स्वार्थ मात्रै छ , हामी मित्रतापूर्ण सम्बन्ध चाहन्छौ ।’कान्तिपुरबाट