काठमाडौं,२७ असार । अविरल वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । तीन दिन देखिको वर्षाले नदीमा पानीको बहाव बढेको हो ।
सप्तकोशीमा बिहीबार बिहान १० बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख १० हजार ९ सय सय क्युसेक पुगेको कोशीव्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
कोशीव्यारेजका अनुसार पानीको बहाव अघिल्ला दिनको तुलनामा बढी हो । सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
बिहीबार र शुक्रबार देशभर भारी वर्षाको कारण साना तथा ठूला नदीहरुमा बाढीको उच्च सम्भावना रहेकाले पूर्वतयारी गर्न सरकारले आह्वान गरेको छ ।
विशेषगरी तराई, सिवालिक र मध्य पहाडी क्षेत्रमा आगामी २०–३६ घण्टासम्म भारी वर्षा हुने अनुमान छ । जसका कारण नदी तथा खोलाहरुमा ठूलो बाढी आउने छ ।
तराईका कन्काई र कमला नदीमा पनि पानीको सतह खतराको लेभलभन्दा माथि पुग्ने चेतावनी दिइएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार र शुक्रबार देशभर वर्षाको सम्भावना छ ।