Logo

फ्रान्सको राष्ट्रिय दिवसमा उपराष्ट्रपति



काठमाडौं, असार २९ । उपराष्ट्रपति नन्दबहादुर पुन फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभएको छ ।

नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जाभिए लेजेले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सङ्घ र प्रदेशका सांसद, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, उद्योगपति, व्यापारी, कलाकार, साहित्यकार, कामको सिलसिलामा राजधानीमा रहेका फ्रान्सेली नागरिकका साथै वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत लेजेले ७० वर्ष पुरानो फ्रान्स–नेपाल सम्बन्धमा हालै प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको फ्रान्सको औपचारिक भ्रमणले नयाँ आयाम थपेको राससले जनाएको छ ।

उहाँले केही महीनाअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाबाट भएको भ्रमण तथा त्यस क्रममा दुई देशबीच सुरक्षण मुद्रण सम्बन्धमा भएका सहमतिले पारस्परिक सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याएको बताउनुभयो ।

शान्ति सेनामार्फत नेपालले विश्वका विभिन्न देशमा शान्ति सुव्यवस्था कायम गर्न निर्वाह गरेको भूमिकाको सराहना गर्दै राजदूत लेजेले फ्रान्स र नेपालले जलवायु परिवर्तन तथा त्यसका असर घटाउनलगायत साझा चासोका विषयमा क्षेत्रीय एवं अन्तर्राष्ट्रियस्तरमा निकट सम्पर्कमा रहेर समन्वय र साझेदारी गरिरहेका बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्