काठमाडौं, असार ३०। भारतको पंजाबका एक भेटेरीनरी डाक्टरले श्रीमतीलै हैरान पारेको भन्दै आफ्ना तीन वर्षको छोरालाई छातीमा बाँधेर नहरमा हाम्फालेका छन ।
पुलिसले उनकी श्रीमती समेत ५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । युवकको नाम छिन्दरपाल सिंह भएको बताइएको छ । उनको बिहे ५ वर्षअघि राजपाल कौरसँग भएको थियो ।
उनीहरुका तीन वर्षका छोरा र २ महिनाकी छोरी थिए । यी दुईबीच बेलाबेलामा झगडा भइरहन्थ्यो । पछिल्लो केही समय लगातार झगडा भएको थियो । गत मे महिनामा राजपाल झगडा गरेर माइत गएकी थिइन् ।
उनी माइती गएसँगै माइतीले छिन्दरपाललाई उनीविरुद्ध मुद्दा हालिदिने भन्दै धम्की दिइरहन्थे । यसबाट हैरान भएका छिन्दरपालले आफ्ना छोरा अनमोललाई छातीमा बाँधेर नहरमा हाम्फाले ।
शनिबार उनीहरु दुवैको शव भेटियो । छिन्दरपालले घरमा एक सुसाइड नोट लेखेर राखेका थिए जसमा उनले ससुराती परिवारबाट दिक्क भएर आत्महत्या गर्न लागेको लेखेका थिए ।
पुलिसले मृतककी पत्नी राजपाल कौर, ससुरा महिन्दर सिंह, सासु परमजीत कौर, सासुकी आमा महिंदरो बाइ र मामा ससुरा जगदीश कुमारविरुद्ध मुद्दा दर्ता गरेको छ ।