Logo

बाढीपहिरोले ३० राजमार्ग र ४ पुलमा क्षति



काठमाडौं १ साउन । केही दिनयताको अविरल वर्षाका कारण मुलुकभरका ३० वटा मुख्य राजमार्गमा क्षति पुगेको छ । सबैभन्दा बढी क्षति बीपी राजमार्गमा भएको छ ।

सडक विभागका अनुसार बाढीपहिरोका कारण पुल र सडकमा गरी झन्डै २ अर्ब बराबर रुपैयाँको क्षति पुगेको छ । बीपी राजमार्गमा यातायात पूर्ववत् रूपमा सञ्चालन गर्न करिब २० करोड खर्च लाग्ने विभागको अनुमान छ । ‘यो क्षतिको प्रारम्भिक अनुमान हो । सबैतिरको क्षतिको पूर्ण विवरण आइसकेको छैन,’ विभागका महानिर्देशक केशवकुमार शर्माले भने, ‘वर्षात पनि सकिएको छैन ।’

सामान्य खाल्डो पर्नेदेखि सडक नै बगाउनेसम्मको क्षति भएको विभागले जनाएको छ । पानी पर्ने क्रम नरोकिएकाले केही राजमार्गमा पहिरो पन्छाउन समस्या भएको विभागले जनाएको छ । व्यस्त र निर्माणाधीन राजमार्गका पुलसमेत बाढीले बगाएको छ । कतिपय ठाउँमा अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको छ ।

पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरोले क्षति गरेको छ । महानिर्देशक शर्माका अनुसार नारायणगढ(मुग्लिन खण्डमा पनि पहिरो गएको छ । ‘हाम्रो ध्यान वर्षात नसकिँदासम्म कसरी बाटो चालु गर्ने भन्नेमै छ,’ उनले भने ।

महानिर्देशक शर्माका अनुसार वर्षातले क्षति गरेपछि सम्बन्धविच्छेद भएको सिद्धिचरण मार्गको हर्कपुर(ओखलढुंगा खण्ड जोडिए पनि खुर्कोट(घुर्मी खण्डमा यातायात चल्न सकेको छैन । ‘शुक्रबारदेखि यो खण्ड बन्द छ, पहिरो पन्छाउन चार/पाँच ठाउँबाट मेसिन प्रयोग गरेका छौं,’ उनले भने, ‘यातायात सञ्चालन हुन अझै दुई दिन लाग्ला जस्तो छ ।’ उनका अनुसार पानी पर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन समस्या भएको छ । यो खण्डमा खहरे खोला धेरै छन् ।
कान्ति राजपथका ठाउँ(ठाउँमा पहिरो खसेपछि निर्माण कार्य प्रभावित बनेको छ । ‘मध्य पहाडी लोकमार्ग र कान्ति राजपथमा पहिरोको बढी समस्या देखिएको छ,’ शर्माले भने ।

शुक्रबार राति कालीगण्डकी नदीले म्याग्दीको बेनी(जोमसोम सडक खण्डमा क्षति पुर्‍याएको थियो । उक्त सडक खण्डको काभ्रे भीरमा चट्टान फोरेर सडक सञ्चालनमा ल्याइएको छ । शर्माले मध्यपहाडी राजमार्गको क्षतिबारे पूर्ण विवरण आइनसकेको बताए ।

४ पुलमा क्षति
बाढीले पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासस्थित भब्सी खोलाको पुल शुक्रबार राति बगाएको छ । ३२ मिटर पुल बगेपछि अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको छ । दैनिक करिब २ हजार सवारी साधन ओहोरदोहोर गर्ने यो खण्डमा पुल बगेसँगै सडक विभागले भित्री तथा अस्थायी राजमार्ग प्रयोग गर्न चालकलाई अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot