Logo

विप्लव समूहसँग धेरैपटक अनौपचारिक वार्ता गरिसकें– नेकपा नेता पाण्डे



काठमाडौं, १ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, पूर्वमन्त्री तथासांसद सोमप्रसाद पाण्डेले विप्लव समूहसँग अहिलेसम्म औपचारिक रुपमा वार्ता नभएको स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा उनले भने,‘सरकारको तर्फबाट मैले धेरै पटक विप्लव समूहका नेताहरुसँग अनौपचारिक वार्ता तथा छलफल गरेको छु । तर, अहिलेसम्म औपचारिक रुपमा वार्ता भएको छैन् ।’

वर्तमान सरकारले मुलुकमा शान्ति, स्थायित्व चाहेको सुनाउँदै पाण्डेले भने,‘सरकार द्वन्द्व चाहँदैन् । हामी हिंसा चाहँदैनौं । हामी त सुशासन र समृद्धि चाहन्छौं । त्यही भएर सरकारले मेरै नेतृत्वमा ०७५ साल भदौ ०८ गते उच्चस्तरीय वार्ता टोली बनाएको थियो । मैले धेरै सशस्त्र समूहसँग वार्ता गरेर उनीहरुलाई मूलधारमा ल्याएको छु । मेरो नेतृत्वको टोलीले विप्लवसँगमात्रै सहमति गर्न सकेको छैन् । अहिलेपनि म्याद सकिएपनि मैले वार्ताको पहल गरिरहेको छु ।’

उनले आफूले विप्लव समूहका गुणराज लोहनीसँग सम्पर्क बढाएर वार्ता तथा सम्वादको पहल गरेको स्मरण गराए । उनले भने,‘अहिलेसम्म अनौपचारिक छलफल मात्र भएका छन् । हामी धेरै पटक छलफल तथा वार्तामा बस्यौं । तर, अहिलेसम्म सार्थक हुन सकेको छैन् ।’ उनले सरकारले अहिलेपनि विप्लवसँग वार्ताको ढोका खोलेको सुनाए । पाण्डेले भने,‘वार्ताको विकल्प छैन् भन्ने कुरामा सरकार पुगेको छ । विप्लव समूहका नेताहरुपनि वार्ताको लागि तयार हुनुहुन्छ ।’ उनले अहिलेसम्म सरकारले लिखित रुपमा वार्ताको लागि पत्राचार नगरेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot