काठमाडौं २ साउन । कार्यालय बाहिर चौकीदार। भित्र चौबीसै घण्टा बन्दुकसहितका प्रहरीको पहरा। कार्यालयको तेस्रो तलामा भण्डारण छ। गेटमा लाहा लगाएर तीन वटा ताल्चा मारिएको छ।
यो कुनै बैंक हो न त कुनै सरकारी चलअचल सम्पत्ति संग्रह गर्ने कार्यालय। राज्यको सम्पत्ति राख्ने ठाउँ नभए पनि महत्त्वपूर्ण वस्तु भण्डारण छ यहाँ। त्यो हो हुलाकी टिकट। फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयलाई टिकट छपाइ र भण्डारणको जिम्मेवारी छ। टिकट भण्डारणमा अहिले चलनचल्तीका मात्रै राखिएको छैनन्, कामै नलाग्ने टिकट पनि संगृहीत छन्। बहादुर शाहदेखि राजा वीरेन्द्र र ज्ञानेन्द्रसम्मका टिकट छन्। जुन टिकटको मूल्य तीन करोड रुपैयाँ पर्छ। हुलाकले लोकतन्त्रपछि ती टिकट बिक्रीवितरण गरेको छैन। जसले कार्यालयको बोझमात्रै बनेको छ।
बेपत्ता रहेका रामप्रसाद राईलाई हचुवामै सहिद भनेर छापिएका १० रुपैयाँ दरका एक लाख ८० हजार थान हुलाक टिकट पनि यहीं भण्डारण छ। मुमा बडामहारानीको २० रुपैयाँ दरको ३ लाख ३४ हजार, राजा वीरेन्द्रको आठ रुपैयाँ दरको २ लाख ८० हजार, राजा वीरेन्द्रकै नौ रुपैयाँ दरको १६ लाख ४३ हजार एक सय थान, श्रीपेच भएको एक रुपैयाँको २ हजार थान, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको २ रुपैयाँ दरको १० लाख थान गरी तीन करोड मूल्यको टिकट काम नलाग्ने भएको छ। टिकट बिक्री नहुँदा राज्यले आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ।
२० करोड रुपैयाँ वार्षिक टिकटबाट आम्दानी हुने मुलुकमा यो रकम ठूलो हो। राईकै टिकटमा पनि राज्यको ढुकुटीबाट १८ लाख रुपैयाँ स्वाहा भयो। हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवाली कुनै निकायबाट भएको गल्तीले राज्यको धन नोक्सानी भएको बताए। राई तेस्रोपटक टिकटमा अंकित भएका छन् प्रजातान्त्रिक योद्धा नाममा। सन् १९९८ मा पनि राईको ७५ पैसा दरमा टिकट छापिएको थियो।
ती टिकट धुलाउने कि के गर्ने भन्नेमा फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालय अन्योलमा छ। कार्यालय प्रमुख मनका पौड्यालले भनिन्, ‘देशमा गणतन्त्र स्थापना भइसकेको छ। यी टिकट बेच्न मिल्दैन। टिकट संकलन गर्नेले प्रतिटिकट १० हजार रुपैयाँ तिरेर खरिद गर्ने गरेका छन्। तर यो परिणाम निकै थोरै छ।’
महानिर्देशक ज्ञवाली भन्छन्, ‘ऐनले पनि टिकट धुलाउने व्यवस्था नगरेकाले हामीले कसरी व्यवस्थापन गर्ने भनेर मन्त्रालयमा पत्र पठाएका छौं। मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि मात्रै धुलाउन सकिन्छ व्यवस्था भएकाले निर्णयको पर्खाइमा छौं।’ भण्डारका क्रममा सडेका र खोटो टिकट कार्यालयले ०५८ सालतिर एकपटक मात्रै धुलाएको थियो।
स्टक घटाउन यस्ता टिकट मिलाएर बेच्ने गरेको फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयका नासु शालिग्राम नेपालले बताए। ‘भण्डार गर्ने निकाय एउटा र छपाइ गर्ने निकाय अर्काे भएकाले यस्तो समस्या भएको थियो। यस वर्षदेखि हामीले नै टिकट छपाइ गर्न थालेका छौं ’, नेपालले भने।
टिकटमार्फत सन्देश एकैपटक जान्छ। व्यक्तिको खबर चिठीमा र राष्ट्रको सन्देश र पहिचान त्यही चिठीबाहिर टाँसिने टिकटले बोकेको हुन्छ। यसैले टिकटलाई देशको ‘नबोल्ने राजदूतका’ रूपमा लिइन्छ। टिकट राष्ट्रिय सम्मान र राष्ट्रियतासँग गाँसिने हुँदा इतिहाससमेत बोल्छ। त्यही कारण भण्डारणमा १० देखि २५ हजारसम्म टिकट राखिन्छ। संकलनकर्तालाई बढी मूल्यमा बिक्री गर्न पाइने कारण यसरी भण्डारण गरेर राखिने नासु नेपाल बताउँछन्। अन्नपूर्णपोष्टबाट