लण्डन । संयुक्त अरब इमिरेट्सका शासक शेख मोहम्मद बीन रसिद आफ्नी श्रीमती भागेपछि न्याय खोज्दै बेलायत पुगेका छन् । उनले बेलायतको ‘लण्डन फेमिली कोर्ट’अदालतमा श्रीमती हायविरुद्ध मुद्दा दायर गरेका हुन् ।
जहाँ आगामी जुलाइ ३० मा फैसला हुने बताइएको छ । दुबइको राजकीय सुविधा छोडेर सम्पत्ति सहित बेलायत पुगेको समाचार बेलायती संचारमाध्यमले सार्वजनिक गरेपछि शेख मोहम्मदले पनि बेलायतमै कानुनी उपचार खोजेका हुन् ।
जोर्डनका पूर्वराजाकी छोरी हया शेख मोहम्मदकी छैठौँ श्रीमतीको रुपमा रहँदैआएकी थिइन् । स्वतन्त्रताको लागि भन्दै आफ्नै छोरी युरोप छिरेपछि उनले पनि देश छोडेकी हुन् ।
श्रीमती हयाले देश नै छाडेपछि कविता नै लेखेका शेख कानुनी लडाइँको तयारी देखिएपछि उनीहरुबीचको मुद्दा झन् पेचिलो बन्नसक्ने अन्तर्राष्ट्रिय मिडियाहरुको टिप्पणी छ ।
गत वर्ष मात्रै शेख तथा हयाकी छोरीले सार्वजनिक रुपमै आफूमाथि बन्देज लगाइएको भन्दै युरोप छिरेकी थिइन् । दुबइका उपराष्ट्रपति तथा प्रधानमन्त्री शेखले भने श्रीमती हयाले देश छाडेपछि उनैलाई सम्बोधन गर्दै गत साता कविता नै लेखेका थिए ।
‘तिमिले अमुल्य विश्वास तोड्यौ, र तिम्रो खेलको रहस्य खुल्यो । तिम्रो ढाँट्ने समय समाप्त भइसकेको छ, र यसले पनि अर्थ राख्दैन कि, हामी के थियौँ र तिमी के छौ ।’
यस्तै आशयको कविता उनले लेखेका थिए । ४५ वर्षीया हया र ६९ वर्षीय शेख मोहम्मदले २००४ मा विवाह गरेका थिए । शेखका हयासहित ६ श्रीमततीबाट ११ छोरी र ७ छोरा छन् ।