काठमाडौं, साउन ७ । माछापुच्छ्रे बैंकले एक हजार अंकित दरमा ३० लाख इकाई ऋण पत्र निष्काशन शुरु गरेको छ । सोमबारदेखि उक्त ऋणपत्रको विक्री खुल्ला गरेको हो ।
बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याज भुक्तानी गर्ने गरी ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र विक्री गर्न लागेको हो । ऋणपत्रको विक्रीप्रवन्धक एनएमबी क्यापिटल रहेको छ ।
ऋणपत्रको नाम ‘माछापुच्छ्रे ऋणपत्र २०८५’ रहेको छ । बैंकले निष्काशन गरेको ३० लाख इकाईमध्ये सामूहिक लगानी कोषकालाई छुट्याइएको ६० हजारसहित १२ लाख इकाई अर्थात एक अर्ब २० करोड रूपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणलाई विक्री गर्न लागेको बैंकले जनाएको छ । यस्तै, बाँकी १८ लाख अर्थात एक अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।
ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्ताका लागि छिटोमा साउन ९ गते सम्म आवेदन दिनुपर्ने हुन्छ । माग गरिएजति आवेदन नपरे ऋणपत्र निष्काशन भदौ ३ गतेसम्म खुला रहनेछ ।