काठमाडौं ९ साउन । दोर्दीखोलामा बुधबार दिउँसो एक्कासी आएको बाढीले बगाउँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु भएका ५ जना दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाका कामदार रहेको प्रहरीले बताएको छ । उनीहरुको सनाखत हुन सकेको छैन ।
प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार ४ जनाको शव फेला परेको र ६ जना बेपत्ता छन्। २ जनाको शव नौथर शेरा र २ जनाको शव कीतिपुर बेंसीमा फेला परेको हो। ५ जना पुरुष हुन्।बेपत्तामध्ये साँझ ८ बजेसम्म कोही पनि सम्पर्कमा नआएको उनले बताए। बाढीले बगाउँदा ९ जना घाइते भएका छन्। ५ जना माथिल्लो दोर्दी ‘ए’ का कामदार रहेका छन्। ५ जना माथिल्लो क्षेत्रमा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत आयोजनाका कामदार हुन्। उनीहरुलाई उपचारका लागि बेंसीसहर ल्याइएको छ।
माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको प्रवर्द्धक टिबर्टी इनर्जी कम्पनीका सञ्चालक राजेन्द्र वस्तीले बाढीले धनजनको क्षति पुर्याएको बताए। उनका अनुसार ४ जना कामदार बगाएको र ७ जना बेपत्ता भएको बताए। ‘बाढी एक्कासी आयो। हामीले केही केही गर्नै सकेनौं। यो नसोंचेको घटना भयो’ उनले भने। माथिल्लो क्षेत्र ढोडेनीको जंगलमा पहिरो गएर बाढी आएको उनले बताए। ‘माथिल्लो क्षेत्रमा पहिरो आएर खोला थुनिएको र एक्कासी आएको हुनसक्छ’ उनले भने।