काठमाडौं १० साउन । धार्चे गाउँपालिका–३ खोर्लाबेंसीबाट बरामद भएको १६ किलो सुन प्रहरीले बिहीबार साँझ सार्वजनिक गरेको छ । खोर्लाबेंसीको ओडारमा लुकाइछिपाइ राखेको सुन प्रहरीले बिहीबार बिहान फेला पारेको थियो । उक्त सुन धार्चे गाउँपालिका–१ हुलचुकस्थित यारुबगरका व्यापारी धनकमल गुरुङले ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘चोरी निकासी गरी काठमाडौंतर्फ लैजान लागेको सुन जंगलमा लुकाइछिपाइ राखेको अवस्थामा फेला पार्यौँ,’ एसपी ओम अधिकारीले भने । चुमुनुव्री गाउँपालिका–७ छेकम्पारस्थित ङुइला नाकाबाट सुन भित्रिएको प्रहरीको अनुमान छ । बरामद सुन ८ करोड ९१ लाख मूल्य बराबरको छ ।
खच्चड व्यवसायी धनकमल गत असार ११ गते राति १० बजेबाट हराएका थिए । ‘सुरुमा परिवारले धनकमल सम्पर्कविहीन छन् भन्दै उजुरी दिए, पछि परिवारसँग सम्पर्क भयो भनेर परिवारका सदस्यले नै उजुरी फिर्ता लिनु भयो,’ एसपी अधिकारीले भने,‘परिवारको सम्पर्कमा आउने हाम्रो सम्पर्कमा नआउने, घटना थप शंकास्पद बनेपछि खोजी तीव्र पारेका थियौँ ।’ प्रारभ्भिक अनुसन्धानबाट धनकमलले नै सुन छेकम्पार नाकाबाट भित्र्याएको खुलेको छ ।
घनकमल खच्चड छाडेर सम्पर्कविहीन बनेपछि घटना थप रहस्यमय बनेको भन्दै प्रहरीको एक टोली उत्तरी क्षेत्रमा खटिएको थियो । स्थानीयको उपस्थितिमा ओडारमा भेटिएको सुन मुचुल्का गरिएको उनले बताए । ‘घटनाको अनुसन्धानमै छौँ,’ उनले भने,‘कसरी कहाँबाट सुन आयो, कहाँ लैजान लागियो, को–को संलग्न छन्, यसबारे सुक्ष्म अनुसन्धान हुन्छ ।’ बरामद भएको सुन राजस्व कार्यालयमा बुझाउने प्रहरीले जनाएको छ ।