Logo

रुट बदल्दै सुन तस्करी



काठमाडौं १२ साउन । संगठित तस्करहरूले चीन र खाडी देशबाट नेपाल भित्र्याइएको अवैध सुन रुट बदल्दै भारतीय बजारसम्म पुर्‍याउने गरेका छन् । पहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रसुवाको केरुङ नाकाबाट नुवाकोट हुँदै काठमाडौं भित्रिने ठूलो परिमाणको सुन स–सानो परिमाणमा गाडीबाट भारतीय बजारसम्म पुर्‍याइन्थ्यो ।

सरकारले ती दुवै ठाउँमा कडाइ गरेपछि तस्करहरूले फरक शैली र रुट प्रयोग गरेको पाइएको छ । साउन ९ मा गोरखाको धार्चे गाउँपालिका–३ को ओडारमा भेटिएको १६ केजी अवैध सुन पछिल्लो उदाहरण हो ।

गृह मन्त्रालयमा साउन ७ मा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले संगठित सुन तस्करी नियन्त्रणमा मूलभूत रूपमा सफल रहेको र तस्करीको सन्जाल ध्वस्त भएको दाबी गरेको दुई दिनपछि गोरखामा अवैध सुन भेटिएको थियो । प्रहरीका उच्च अधिकारीहरू चल्तीको रुट र शैली बदलिए पनि संगठित सुन तस्करी निरन्तर भइरहेको बताउँछन् । अहिले तस्करहरूले केरुङ नाकाबाट भित्रिएको सुन गोरखा र लमजुङका विभिन्न रुट हुँदै पोखरा पुर्‍याएर बुटवल हुँदै सुनौली नाका कटाएर भारत पुर्‍याउने गरेको देखिन्छ । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार लमजुङ, गोरखा, चितवन हुँदै भारत पुर्‍याउने अर्को गिरोह पनि सक्रिय हुन थालेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम अधिकारीका अनुसार ओडारमा भेटिएको सुन गोरखा र तिब्बतको सिमानामा रहेको छेकम्पार नाका हुँदै भित्रिएको अनुमान छ । छेकम्पारबाट गोरखा सदरमुकामा आउन तीन दिनको पैदल यात्रा गर्नुपर्छ । व्यापारीहरूले घोडा र खच्चड प्रयोग गरेर सामान ओसारपसार गर्छन् । सामान ओसारपसार गरिने त्यही रुटलाई संगठित सुन तस्करहरूले उपयोग गरेको प्रहरीको अनुमान छ ।

२०७४ कात्तिक १७ मा मनाङबाट लमजुङ हुँदै काठमाडौं भित्र्याउन आँटिएको १७ केजी सुन जिल्ला प्रहरी कार्यालय लमजुङले बरामद गरेको थियो । मनाङबाट बा ५२ प ४२९१ नम्बरको मोटरसाइकलमा लमजुङको बेसीसहर जाँदै गरेका पासाङ लामाबाट १७ केजी सुन बरामद भएको थियो । यो घटनापछि प्रहरीले रसुवाको केरुङ नाकाका अलावा तिब्बतबाट गोरखा–मनाङ हुँदै लमजुङको रुट भएर सुन तस्करी हुन थालेको निष्कर्ष निकालेको थियो । गोरखाबाट तिब्बतसँग सीमा जोडिएको सामागाउँस्थित रुइला तिब्बत छिर्ने एकमात्र नाका हो । यही नाका हुँदै भित्रिएको सुन लमजुङ र गोरखा हुँदै बाहिरिने प्रहरीको अनुमान छ ।

प्रहरीले आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा मात्रै अवैध सुन कारोबारमा संलग्न १ सय ७ जनालाई पक्राउ गरी ८४ किलो अवैध सुन बरामद गरेको रेकर्ड छ । संगठित तस्करहरूले सुन ल्याउने शैली पनि बदलेको देखिन्छ । वैशाख ९ मा विमानस्थल प्रहरीले दुबईबाट काठमाडौं आएका एक भारतीयको साथबाट तरल अवस्थाको दुई केजी सुन बरामद गर्‍यो । यसअघि तस्करहरूले बिस्कुट आकारको सुन ओसार्दै आएका थिए । चैत २८ मा चीनको कुनमिङबाट काठमाडौं आएका दुई चिनियाँ नागरिकले मलद्वारमा साढे तीन किलो सुन लुकाएको पाइएको थियो । उनीहरूलाई विमानस्थल प्रहरीले पक्राउ गरेको थियो ।

असार २२ मा कतारबाट फर्केका लीलाबहादुर बस्नेत ४ सय ५० ग्राम सुनसहित पक्राउ परे । विमानस्थलमा भेटिएका एक अपरिचितले उनलाई पार्सल भन्दै पठाएको डाइपरको टाँकभित्र लुकाइएको अवस्थामा प्रहरीले सुन बरामद गरेको थियो । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्