Logo

१२ वर्षपछि काठमाडौं-जापान सिधा उडान



काठमाडौं १२ भदौ । नेपाल वायुसेवा निगमको वाइडबडी विमान ९५ यात्रु र ५६ अतिथिसहित बुधबार राति २:३० बजे जापानको ओसाका उड्दै छ । १२ वर्षपछि निगमले पुन: काठमाडौंबाट जापानको ओसाका सिधा उडान गर्न लागेको हो ।

जहाज अभाव लगायतका व्यवस्थापकीय कमजोरीका कारण निगमले ०६३ चैत्र २९ पछि ओसाका उडान स्थगन गरेको थियो । यसअघि निगमले ०५१ कार्तिक १३ गते काठमाडौंबाट चीनको सांघाईमा अवतरण गर्दै जापानका लागि (इन–डाइरेक्ट) उडान गरेको थियो ।

निगमको वाणिज्य विभागका निर्देशक टंकनिधि दाहालका अनुसार, पहिलो उडानमा टिकट खरिद गरेर जाने यात्रुको संख्या साँझसम्म ९५ पुगेको छ । यात्रुबाहेक निगमले आफ्नै खर्चमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, ५ जना सांसद, पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य, निगमको सञ्चालक समिति सदस्य अच्युतराज पहाडी, अर्थ मन्त्रालयका सहसचिव विष्णुराज ढकाल, २० जना ट्राभल तथा कार्गो सेल्स एजेन्ट, निगमका नायब महाप्रबन्धक गणेश चन्द, वाणिज्य विभागका निर्देशक दाहाल, अपरेशन विभागका निर्देशक दिपुराज जुहार्चन, निगमलाई वित्तीय सहयोग गर्ने हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकका तीन जना प्रतिनिधि, सोल्टी होटलका महाप्रबन्धक उपल मजुम्दार नागरिक उड्डयन प्राधिकरणका ४ जना कर्मचारी र ३ जना सञ्चारकर्मीसहित ५६ जनालाई लैजाँदै छ ।

२० जना ट्राभल तथा सेल्स एजेन्टलाई सित्तैमा टिकट दिइएको हो । तर, उनीहरुले जापानमा बसोबास र अन्य खर्च आफैं गर्नुपर्ने छ । यीबाहेक अन्य ३६ जना निगमको निम्तोमा जान लागेकाले उनीहरुको होटल लगायतको खर्च निगमको हुने निर्देशक दाहालले बताए । १२ वर्षपछि वाइडबडी विमानबाट हुन लागेको पहिलो उडानमा पर्यटनमन्त्री योगेश भट्टराई र पर्यटन सचिवसहित थप नामावली पनि थियो । तर, अन्तिम समयमा मन्त्री र सचिवसहित निगमलाई ऋण उपलब्ध गराउने नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषका प्रतिनिधिले नजाने निर्णय गरेको निगम स्रोतले बतायो । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्