Logo

बीपी राजमार्ग जोखिममा !



काठमाडौं, भदाै १५। काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने वैकल्पिक सडकका रूपमा निर्माण भएको बीपी राजमार्ग अब दुई लेनको बन्ने भएको छ। सडक साँधुरो हुँदा सवारी साधन आवतजावत गर्न नै कठिनाइ भएपछि सरकारले दुई लेनको सडक निर्माण गर्ने योजना अगाडि सारेको हो।

निर्माण सम्पन्न भएको पाँच वर्षपछि सरकारले जापान सरकारको सहयोगमा निर्मित उक्त राजमार्ग विस्तार गर्ने काम अगाडि बढाएको छ। सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाका प्रमुख सूर्य भाटले बढ्दो सवारी चापलाई ध्यानमा राखेर सडक विस्तार गर्ने योजना अगाडि सारिएको बताउनुभयो।

बीपी राजमार्गको धुलिखेल–नेपालथोक हुँदै मूलकोटसम्म करिब ७० किलोमिटर र चिया बगान–बर्दिवासम्मको ४४ किलोमिटर सडकको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)को काम यसै वर्ष अगाडि बढ्नेछ।

आयोजना प्रमुख भाटले खुर्कोट–सिन्धुलीगढी हुँदै चिया बगानसम्मको सडकको भने डीपीआर नगर्ने बताउँदै खुर्कोट चियाबगान सुरुङ मार्गको अध्ययन गराइने जानकारी दिनुभयो।

खुर्कोट–सिन्धुलीगढी–चियाबारी ३० किलोमिटर दूरी रहेकामा खुर्कोट–चियाबारी सात किलोमिटरको सुरुङ मार्ग निर्माण भएको अवस्थामा २३ किलोमिटर दूरीसमेत घट्ने भएको छ। उक्त सुरुङ मार्ग निर्माणका लागि जापान सरकार इच्छुक देखिएको छ।

धुलिखेलदेखि बर्दिवाससम्म १ सय ६० किलोमिटर बीपी राजमार्ग दुई लेन बनाउने काम यसै वर्षबाट अगाडि बढ्ने बताउँदै उहाँले ६ किलोमिटर सडक दुई लेनको बनाउने काम शुरू हुने जानकारी दिनुभयो। जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएको नेपालकै नमुना सडकका रूपमा रहेको बीपी राजमार्गले राज्यले अपेक्षा गरेअनुसारको सुविधा दिन नसकेको निष्कर्षसहित सरकारले दुई लेनको सडक बनाउने योजना अगाडि सारेको हो।

हाल उक्त सडकमा ठूला सवारी साधन सञ्चालनमा सरकारले नै रोक लगाएको छ। सडक साँघुरो भएकाले हाल साना सवारी साधन मात्र सञ्चालन हुँदै आएका छन्।
तराईबाट मालवाहक सवारी साधन सञ्चालन बीपी राजमार्ग हुँदै काठमाडौं सञ्चालन हुन सक्ने अवस्था छैन। सडक विस्तार गर्र्ने आयोजनाले यसअघि नै सडक निर्माण गर्दाकै अवस्थामा सडकको दायाँबायाँ १५÷१५ मिटर जग्गा अतिग्रहण गरिसकेको छ।

सडक विस्तारका लागि मुआब्जा दिन समस्या नरहेको बताउँदै आयोजना प्रमुख भाटले सरकारले बीपी राजमार्ग विस्तारको कामलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो। सरकारले बीपी राजमार्गको विस्तार गर्न डीपीआर र निर्माणको काम अगाडि बढाउनको लागि यस वर्ष २० करोड रुपियाँ विनियोजन गरेको छ।

स्थानीय तहमा अनियन्त्रितरूपमा निर्माण भइरहेको सडकका कारण बीपी राजमार्ग जोखिममा परेको छ। स्थानीय सरकार सञ्चालनमा आएपछि मापदण्ड विपरीत सडक निर्माणका कारणले नै राजमार्ग जोखिममा पर्दै गएको निष्कर्ष आयोजनाले निकालेको छ।

बीपी राजमार्गको ठाउँ ठाउँमा माथिल्लो क्षेत्रमा खनिएका सडकमा नाला नहुँदा आउने पानीले लेदो र गेग्रन ल्याउँदा राजमार्ग अवरुद्ध हुने गरेको छ। आयोजनाका अनुसार हाल एक दर्जनभन्दा बढी स्थानमा भेल आउने समस्याको कारण राजमार्गमा समस्या हुने गरेको छ। आयोजनाले सडकमा आउने भेल हटाउनको लागि भने मेसिन तयारी अवस्थामा राख्ने गरेको छ।

आयोजना प्रमुख भाटका अनुसार यस वर्ष माम्ती–खोलाकालोढुंगा, भ्याकुर खोलामा दुई लेनको पुल निर्माणको काम अगाडि बढाउनको लागि डिजाइनको काम भइरहेको छ। मुग्लिनमा जाम हुँदा बीपी राजमार्ग हुँदै सवारी साधन सञ्चालन हुने गरेका छन्। साँघुरो सडकमा पहिरो खस्दा सडक अवरुद्ध हुँदा घण्टांै ट्राफिक जाम हुने गरेको छ


जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख डम्बर सिलवाले बीपी राजमार्गमा साना ठूला गरी दैनिक ४ हजार भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेको बताउनुभयो। बीपी राजमार्गमा मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाए पनि ट्रिपर भने निर्वाधरूपमा सञ्चालन हुने गरेका छन्।

राजमार्गमा १० टन भन्दा बढी बोकेर सवारी साधन सञ्चालन गर्न नपाइने प्रावधान भएपनि ट्रिपरले २० देखि २५ टनसम्म लोड लिएर सञ्चालन हुने गरेको छ। जसको कारण मर्मतमा मात्र सरकारले करोडौं बजेट खर्च गर्दै आएको छ।

बीपी राजमार्ग हुँदै ओखलढुंगा, रामेछाप दोलखा, सिन्धुली र पूर्वी तराईबाट दैनिकरूपमा यातायात सञ्चालन हुँदै आएको छ। बीपी राजमार्गको निर्माण २०१५ सालमा तत्कालीन जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको परिकल्पनाअनुरूप त्यतिबेलै निर्माण शुरू भएको थियो।

२०१७ सालको राजनीतिक परिवर्तनपछि बीपी राजमार्ग निर्माण ओझेलमा परेको थियो। २०४६ सालको राजनीति परिवर्तनपछि पहिलो जननिर्वाचित सरकारको पहलमा ३७ वर्षसम्म ओझेलमा परेको राजमार्गलाई ४ खण्डमा विभाजन गरी जापान सरकारको आर्थिक सहयोगमा २०५२ सालदेखि निर्माण शुरू भएर २०७१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। जापान सरकारको सहयोगमा २२ अर्ब रुपियाँ लगानीमा निर्माण सम्पन्न भएको थियो।

नेपाल समाचारपत्र



प्रतिक्रिया दिनुहोस्