काठमाडौं २० भदौ । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाललाई डेंगु संक्रमण भएको छ । ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचाररत खनालको स्वास्थ्य सुधारोन्मुख छ । उनलाई बुधबार भर्ना गरिएको थियो ।
ग्रान्डीका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेका अनुसार खनालको उपचार सघन उपचार कक्ष (आईसीयु) मा राखेर भइरहेको छ । ‘उहाँको स्वास्थ्य अवस्था गम्भीर भएर आईसीयुमा राखेका होइनौं,’ उनले भने, ‘धेरै व्यक्ति भेट्न आउने भएकाले उपचारमा बाधा नपुगोस् भनेर हो ।’
स्वास्थ्यमा जटिलता आएमात्र उपचार अवधि लम्बिने अस्पतालले जनाएको छ । मन्त्रीको उपचारमा पाण्डे नेतृत्वको टोली संलग्न छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट