Logo

चिनियाँ विदेशमन्त्रीको विमान १५ मिनेट ‘होल्ड’



काठमाडौं २३ भदौ । चिनियाँ विदेशमन्त्री वाङ यी सवार डियर जेट विमान काठमाडौं अवतरणका क्रममा आइतबार साँझ १५ मिनेट होल्डमा परेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार मन्त्री वाङको बी ८१३५ उडान नम्बरको जेट विमान काठमाडौंमा अवतरण गर्नुअघि मौसम खराब देखिएपछि ५ बजेर ३२ मिनेटमा विमानस्थल बन्द गरिएको थियो ।

विमानस्थलको भिजिबिलिटी २ हजार मिटरमा खुम्चिएको थियो ।

विमानस्थल बन्द भएलगत्तै काठमाडौंदेखि २७ किलोमिटर पर उक्त जेट विमान होल्ड (आकाशमै फन्को लगाउनु) मा परेको थियो । विमान होल्डमा परेको आकाशको विन्दुलाई उड्डयनकर्मी ‘गुरास’ नामले चिन्दछन् ।

उक्त जेट विमानले गुरासलाई तीन फन्को लगाएको थियो । मौसममा सुधार भएपछि ५ बजेर ४२ मिनेटमा धावनमार्ग खुला गरिएको थियो । विदेशमन्त्रीको विमान ५ बजेर ५७ मिनेटमा काठमाडौं विमानस्थलमा अवतरण भएको थियो । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्