Logo

डा. रुइतलाई पनि डेंगु



काठमाडौं २३ भदौ । नेत्र विशेषज्ञ प्राडा. सन्दुक रुइत तीन दिनयता अस्पतालमा छन् । अघिपछि पनि काम गर्ने र पढाउने अस्पताल भने होइन । डेंगुको संक्रमणले आफैं बिरामी परेर थापाथलीको नर्भिक अस्पतालमा उनी भर्ना भएका हुन् । उनलाई डेंगु पनि अस्पतालमा रहँदा भएको होइन । घरैमा उनीसहित रुइत परिवारका तीन जनालाई डेंगुको संक्रमण भएको हो ।

‘डेंगुको अवस्था भयावह भएर आयो,’ उनले भने, ‘डेंगु फैलाउने लामखुट्टे मास्ने अभियान प्रभावकारी रूपमा चलाउन ढिला गरे झन् गाह्रो हुन्छ ।’ सञ्चारमाध्यममा आएका डेंगु संक्रमितको संख्याभन्दा दोब्बर बिरामी हुन सक्ने उनले बताए । पछिल्लो समय देशव्यापी रूपमै डेंगु संक्रमण बढेको अवस्थामा बिरामी पर्नेमा डा. रुइत एक्ला स्वास्थ्यकर्मी होइनन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका गरेर आइतबारसम्म १० स्वास्थ्यकर्मी डेंगु संक्रमित भई उपचार गराइरहेका छन् । केही उपचारपछि निको भएका छन् । अस्पतालमा कार्यरत र बाहिरका स्वास्थ्यकर्मीलाई संक्रमणबाट बच्न र बचाउन सचेत गराइएको निर्देशक डा. वासुदेव पाण्डेले बताए । ‘स्वास्थ्यकर्मी नै बिरामी परेपछि सर्वसाधारणमा पनि त्रास बढ्नु अस्वाभाविक होइन । जोगिने उपायबारे नियमित बताइरहेका छौं,’ उनले भने, ‘सकेसम्म शरीर पूरै ढाक्ने कपडा लगाउन र सरसफाइमा विशेष ध्यान दिन जरुरी छ ।’

स्वास्थ्य सेवा विभाग र टेकु अस्पतालको परिसरमै डेंगु संक्रमित लामखुट्टेको अन्डा र लार्भा भेटिएपछि सातायता नियमित सरसफाइलाई तीव्र बनाइएको छ । खाल्डाखुल्डीमा जमेको पानी हटाउने, झाडी फाँड्ने र रूखका हाँगासमेत काटेर सकेसम्म लामखुट्टे बस्ने वातावरण नाश गरिएको छ । अझै पनि अस्पताल परिसर सफा र व्यवस्थित देखिँदैन । पानी पर्नासाथ खाल्डाखुल्डी भरिन्छन् र लामखुट्टेको बासस्थान बन्छ ।

उपचारका क्रममा स्वास्थ्यकर्मी बिरामीको वरिपरि भइरहने भएकाले उनीहरू संक्रमणको उच्च जोखिममा हुने बताउँदै डा. पाण्डेले लामखुट्टे नछिरोस् भनेर झ्यालमा जाली लगाउने, प्वाल टाल्ने र शौचालय सफा गरिरहने काममा ध्यान दिइएको बताए ।

वार्डहरू अँध्यारो हुने र घामको प्रकाश कम छिर्ने भएकाले पनि अस्पताल परिसर बढी जोखिम भएको उनको तर्क छ । संक्रमितलाई टोकेको लामखुट्टेले सकभर अस्पतालमा आउजाउ गर्नेलाई रोग नसारोस् भनेर बिरामीलाई झुलभित्र राखेर उपचारथालिएको छ ।

३५ शय्यामा झुल टाँगिए पनि अस्पतालले सबै शय्याका लागि पर्याप्त हुनेगरी व्यवस्था गरेको छैन । डेंगु संक्रमित १३ जिल्लाका बिरामी भर्ना छन् । बिरामीमध्ये काठमाडौं, धादिङ र चितवनका धेरै छन् । डेंगुका बिरामीका लागि दुईवटा वार्ड नै छुट्ट्याइएको छ । टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार र संक्रमित भएको शंकामा परीक्षण गराउन आउनेको दिनहुँ भीड छ ।



प्रतिक्रिया दिनुहोस्