Logo

मलेसिया रोजगारी खुल्यो



काठमाडौं २७ भदौ । नेपाली कामदारका लागि मलेसियामा रोजगारीको बाटो खुलेको छ। नेपाल र मलेसियाबीच बिहीबार रोजगार खुला गर्ने सहमति भएको श्रममन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए। विगत १५ महिनादेखि नेपाली कामदार मलेसिया जान पाएका थिएनन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बायोमेट्रिकलगायत विभिन्न शीर्षकमा कामदारबाट साढे १७ हजार रकम असुल्दै आएका संस्था खारेज गरेका थिए। त्यसपछि नेपाली कामदार मलेसिया जान बन्द भएको थियो।

कात्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम सम्झौता भए पनि स्वास्थ्य परीक्षणमा कुरा नमिल्दा कामदार मलेसिया जान पाएका थिएनन्। मलेसिया नेपालीको प्रमुख श्रम गन्तव्य हो।

मलेसिया पुरानै संस्थाबाट स्वास्थ्य परीक्षण गराउने अडानमा थियो। नेपाल पुराना स्वास्थ्य संस्थाबाट कामदार नपठाउने पक्षमा थियो। सम्झौताअघि ३७ स्वास्थ्य संस्थाले मात्रै मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दैै आएकामा अब मापदण्ड पुगे ८६ नयाँ स्वास्थ्य संस्था थपिन सक्नेछन्। पुराना संस्थामध्ये एक स्वास्थ्य संस्था बन्द भएका कारण नयाँ मापदण्डमा पर्न सकेको थिएन।

नेपालले नयाँ स्वास्थ्य परीक्षण गर्ने संस्थालाई मान्यता दिन पटकपटक आग्रह गरे पनि मलेसियाले बेवास्ता गर्दै आएको थियो। प्राविधिक कमिटी बैठकमा नयाँ थपिएका स्वास्थ्य संस्थाको ‘अडिट’ गर्न नोभेम्बर पहिलो साता मलेसियाली टोली नेपाल आउन सहमत भएको छ। मलेसियाले गर्ने ‘अडिट’ पास भएपछि ती संस्थाले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनेछन्। यद्यपि नेपालले ती स्वास्थ्य संस्था स्वयं मलेसिया सरकारले दिएको मापदण्डभित्र परेकाले सबैलाई परीक्षण अनुमति दिनुपर्ने अडान राखेको छ।

नयाँ थप भएका स्वास्थ्य संस्थाको ‘अडिट’ गर्न नोभेम्बर पहिलो साता मलेसियाली टोली नेपाल आउनेछ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार कार्यदलको सहमतिअनुरूप कामदार मलेसिया जाने बाटो खुलेको हो।

सरकारले छनोट गरेका एक सय २२ मध्ये ३६ संस्थामा बायोमेट्रिक सफ्टवेयर जडान भइसकेको छ। ती संस्थाबाट स्वास्थ्य परीक्षण गर्ने गरी सरकारले नयाँ कामदारलाई श्रम स्वीकृति दिनेछ। उपसचिव ढकालका अनुसार सरकारले छनोट गरेका एक सय २२ स्वास्थ्य संस्थामध्ये ८६ वटा संस्थाको मलेसिया टोलीले नोभेम्बरदेखि अडिटिङ गर्नेछ। ‘मापदण्डमा खत्रो उत्रन सफल हुन्छन्’, ढकालले भने, ‘हामीले छनोट गरे पनि मापदण्ड नपुगेमा नछानिन सक्छन्।’

तीन दिनसम्म मलेसियाको पुत्राजयमा भएको बैठकमा श्रम, परराष्ट्र र कानुन मन्त्रालयका उच्च अधिकारी सहभागी थिए। सहमतिपत्रमा मलेसियाको मानव संशाधन नीति विभागका प्रमुख बेट्टी हसन र नेपालका तर्फबाट श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन्। श्रममन्त्री विष्टका प्रेस संयोजक मदन खनालका अनुसार सरकारी अडानले मलेसिया नयाँ स्वास्थ्य संस्था थप्न राजी भएको हो। अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्