Logo

सभामुख महरालाई लगाइएको दुर्व्यवहार आरोपको निजी सचिवालयद्वारा खण्डन



काठमाडौं १४ असोज । सभामुख कृष्णबहादुर महरामाथि संसद् सचिवालयमा कार्यरत महिलाले लगाएको दुर्व्यवहार आरोपको सभामुखको निजी सचिवालयले खण्डन गरेको छ । सचिवालयमा कार्यरत एक महिला कर्मचारीले सभामुख महराले आइतबार राति आफ्नै निवासमा आएर यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

आफूलाई दुर्व्यवहार गरेको घटनाबारे प्रहरीलाई जानकारी गराएपछि सभामुख महरा निवासबाट बाहिरिएको उनले बताएकी थिइन् । त्यसैका आधारमा सोमबार साँझ अनलाइन सञ्चारमाध्यममा समाचार आएपछि सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले सोमबार राति विज्ञप्ति जारी गरी खण्डन गरेका हुन् ।

अनलाइन सञ्चारमाध्यमले सम्प्रेषण गरेका समाचार भ्रामक रहेको उनको दाबी छ । ‘सभामुखज्यूले कसैलाई पनि दुर्व्यवहार गरेको कुरा’ कल्पनासमेत गर्न सकिँदैन । हिजो आइतबार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्र हत्या गर्ने दुष्प्रयास भइरहेको छ, त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरूमा जानकारी गराउँछु,’ मल्लले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सभामुख महरा आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको, २ बजेतिर बालुवाटार निवासमा फर्किएको र त्यसपछि अन्यत्र कहीँ नगएको विज्ञप्तिमा दाबी गरिएको छ ।

समाचारमा आए जस्तो चस्मा, जुत्ताका कुरा निराधार भएको, महराको चस्मा उनीसँगै रहेको र तस्बिरमा आए जस्तो जुत्ता पनि उनले प्रयोग नगरेको विज्ञप्तिमा उल्लेख छ । सचिवालयले घटनालाई कर्मचारी समायोजनको असन्तुष्टिसँग जोडेको छ ।

‘संघीय संसद् सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरू र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद् सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको अवस्था थियो,’ विज्ञप्तिमा उल्लेख छ, ‘तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा मैले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरू र ती महिला पनि असन्तुष्ट थिए ।’

त्यही असन्तुष्टिलाई लिएर सभामुखबारे पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह भएको प्रेस सल्लाहकार मल्लको दाबी छ ।
सभामुखको राजनीतिक उचाइ, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र सुनियोजित एवं योजनाबद्ध रूपमा भइरहेको विज्ञप्तिमा बताइएको छ ।

‘यो जहाँबाट भयो/भइरहेको छ, यो कुनै पनि किसिमले क्षम्य हुन सक्दैन । उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरू कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सामाजिक रूपमा बदनाम गर्ने दुष्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भर्त्सना गरे पनि कम हुन्छ,’ विज्ञप्तिमा छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot