Logo

कहाँबाट आयो पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन ?



काठमाडौं २९ असोज ।  पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ। यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो। हालसम्म चढाइएको सुन ९ किलोमात्र भनेर समाचार प्रकाशित भएपछि सर्वत्र विरोध भएको थियो। त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयअन्तर्गत गठित श्रीपशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठीजग्गा अध्ययन एवं छानबिन समितिले पुनः खोजी गर्दा सुनको यो तथ्य फेला परेको हो।

समितिले पशुपति भण्डार तहबिल कार्यालयलाई ‘भक्तजनले चढाएको सुन र चाँदीको सम्पूर्ण विवरण समावेश भएको छ, छैन ? नभएको भए हालसम्मको विवरण खुलाई साथै तहबिलले बजार खरिद गरी चढाएको सुन र चाँदीसमेत खुल्ने गरी’ जानकारी दिन पत्राचार गरेको थियो। प्रतिवेदन आउनुअघि कोषसँग न आफ्नो जग्गाबारे कुनै प्रामाणिक अभिलेख थियो न त सुनचाँदीबारे नै। ‘पशुपतिनाथको नाममा रहेका चलअचल सम्पत्ति सार्वजनिक गरेरै छोड्छौं। गम्भीर छानबिन र विशेष ताकेतापछि करिब ४५ किलो ६३६ ग्राम सुन रहेको तथ्य फेला पारेका हौं’, समिति संयोजक एवं कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले अन्नपूर्णसँग भने।

अघिल्लो प्रतिवेदनअनुसार पशुपतिनाथमा ५६ वर्षको अवधिमा जम्मा ९ किलो २७६.६४ ग्राम सुन देखिएको थियो। कोषमा २०४५ देखि २०५२ सम्म चढाइएको सुनको विवरण पनि अभिलेखमा थिएन। २०३५, २०३६, २०४२, २०४३, २०४४, २०५३, २०६० र २०६३ सालको पनि सुनको अभिलेख भेटिएको छैन। ‘मिति उल्लेख छ, तर सुनको विवरण छैन’, एक कर्मचारीले भने, ‘सुन ढुकुटीमा नराखी गायब बनाइएको हुन सक्छ।’ यही शंकाका आधारमा खोजी गर्दा करिब ४५ किलो सुन फेला परेको डा. थापाले बताए।

तत्कालीन राजा महेन्द्रले ३५० तोला, त्रिभुवनले ३०० तोला, बमबहादुर राणाले १०७ तोला, वीर शमशेरले १०२ तोला सुन चढाएको देखिएको छ।
यसअघि प्रतिवेदनमा ३ सय १६ किलो ५८६ ग्राम चाँदी पशुपतिमा चढाइएको तथ्यांक पाइएको थियो। उनका अनुसार, अहिले १३ सय २५ किलो ९२७ ग्राम चाँदी रहेको पाइएको छ। करिब एक हजार किलो चाँदी थप फेला परेको हो। यसबाहेक मुकुट आदिमा हिरा, मुगा र माणिकसमेत जडित भएको पाइएको छ। चढाइएका सुन र चाँदी मूल ढुकुटीमा राख्ने गरिन्छ। सर्वोच्च अदालतको २०६६ पुस २७ को परमादेशका कारण मूलढुकुटी खोलेर हेर्न मिल्दैन। ढुकुटीभित्रका चलअचल सम्पत्तिबारे कोष पूर्णरूपमा अनभिज्ञ छ। भित्र राखिने चलअचल सम्पत्तिबारे कोषसँग पूर्ण अभिलेखसमेत थिएन। अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्