काठमाडौं ५ कात्तिक । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालकै बीचमा खटपट सुरु भएको छ। पार्टी एकताका क्रममा भएको पाँचबुँदे सहमतिभन्दा नयाँ समझदारी गर्नुपर्ने प्रस्ताव र कार्यकारी अधिकार दाहाललाई दिन ओलीले अनिच्छा देखाएपछि दुई अध्यक्षबीच विवाद देखा परेको हो।
‘असमझदारी केही बढ्न थालेको छ, प्रधानमन्त्रीमा विगतका सहमति÷समझदारीमा अडिने सवालमा केही समस्या देखा पर्न थालेको छ,’ दाहालनिकट स्थायी समिति सदस्य हरिबोल गजुरेलले सोमबार भने, ‘पार्टीमा देखा पर्न थालेको असमझदारीका विषयमा उहाँहरू (ओली-दाहाल) केही दिनयता छलफलमै हुनुहुन्छ।’
ओली र दाहाल सोमबार बिहान र साँझ गरी दुईपटक बालुवाटारमा भेटवार्ता भएको थियो। आइतबार पनि यी दुई नेताले छलफल गरेका थिए। दुई नेताबीच कार्यकारी अधिकार, सभामुख चयन, चिनियाँ प्रस्ताव ‘बीआरआई’ (बेल्ट एन्ड रोड इनिसिएटिभ) र अमेरिकी रणनीति ‘इन्डो प्यासिफिक’ लाई बुझ्नेलगायतका विषयमा एकरुपता छैन। विवाद बढ्दै जाँदा अहिले एकले अर्काे नेताले दिएका अभिव्यक्तिका विषयमा खण्डन गर्ने र तिखो आलोचनामा उत्रने समेत गर्न थालेका छन्। ओलीका अभिव्यक्तिमा दाहालले र दाहालका अभिव्यक्तिमा ओलीले टिप्पणी गर्न थालेका छन्।
ओलीनिकट एक नेताले दुई अध्यक्षबीचको छलफललाई मतभेदका रुपमा भन्दा पनि समझदारी निर्माणका लागि भएको प्रयासका रुपमा बुझ्न आग्रह गरे। ती नेताले भने, ‘उहाँहरू छलफलमा हुनुहुन्छ, छलफलबाटै एउटा निर्णयमा पुग्नुहुन्छ।’
ओलीले दाहालले प्रतिपक्षी दल कांग्रेसको चियापान कार्यक्रमदेखिका सार्वजनिक सम्बोधनमा व्यक्त असन्तुष्टि आफ्ना इच्छा पूरा नहँुदा गरेको निराशाको अभिव्यक्तिका रुपमा अथ्र्याएका थिए। अन्नपूर्णसँगको अन्तर्वार्ताका क्रममा ओलीले भनेका थिए, ‘कुनै व्यक्तिको कुनै इच्छा पूरा नहुन सक्छ, नभएको हुनसक्छ। कुनै असन्तुष्टि हुन सक्छ। त्यसो गर्दा प्रणालीमै, आन्दोलनमै क्यान्सर हुन लागेको, अल्सर छिप्पियो भन्ने हुँदैन। नकारात्मकताको मौसम चलेको छ भन्दैमा त्यतै लागेर निराशाको कुरा गर्नु हुँदैन।’
दाहालले कांग्रेसको चियापानमा पुगेर दुई तिहाइ ठूलो कुरा नभएको र कांग्रेससँग पनि सहकार्य गरेर अगाडि जान सक्नेदेखि पार्टीभित्र ग्यास्ट्रिक र अल्सरजस्ता रोग लाग्न थालेको सार्वजनिक अभिव्यक्ति दिएका थिए। यस्ता अभिव्यक्तिले दुई अध्यक्ष एक-अर्कासँग सशंकित बन्न थालेका छन्। दुई अध्यक्षबीच तिक्तता बढ्न थालेपछि ओलीले शनिबार दाहाललाई छलफलका लागि बालुवाटार बोलाएका थिए। तर दाहाल ओलीले बोलाएको समयमा बालुवाटार नगई सपरिवार सिन्धुपाल्चोकको झुले पुगेका थिए। त्यसपछि आइतबार बिहान ओली र दाहालबीच टेलिफोन सम्वाद भएको थियो। सम्वादका क्रममा दाहालले पार्टी स्थायी समिति बैठक र केन्द्रीय समिति बैठक बोलाउन माग गरेको दाहालनिकट नेता बताउँछन्। अन्नपूर्णपोष्टबाट