Logo

अब चितवनसम्म पाइपबाट पेट्रोल



काठमाडौं १० कार्तिक । नेपाल आयल निगमले मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइनलाई चितवन (लोथर)सम्म बिस्तार गर्न सर्वे सुरु गरेको छ । निगमले शनिबार अमलेखगन्जमा कार्यक्रम गरेर सर्वेक्षणका लागि शुभारम्भ गरेको हो । सर्वेको शुभारम्भ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले गरे ।

सर्वेक्षण टोलीले मोतीहारीदेखि चितवनसम्म खाना पकाउने एलपी ग्यास पाइपलाइन परियोजनाको पनि सर्वेक्षण गर्नेछ। ‘इन्धनको सहज ढुवानी गर्न मोतीहारीदेखी अमलेखगन्जसम्म ३६.८ किलोमिटरको पाइपलाइन ल्याइसकेका छौं,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘यसलाई थप विस्तार गर्दे लोथरसम्म विस्तार गर्ने लक्ष्य छ।’ सर्वे निगम र भारतीय आयल कर्पोरेसन्सले संयुक्त रुपमा गर्नेछ। निगम र आइओसीको सयुक्त टोलीले ४ प्रकारका सर्वे गर्नेछन्। प्रवक्ता गोइतका अनुसार लोथरसम्म एलपी ग्यासको पाइपलाइनसँगै भण्डारण पनि बनाउने लक्ष्य छ।

यस परियोजनाअर्न्तगत अमलेखगन्जदेखि लोथरसम्मको पेट्रोलियम पाइपलाइनको लम्बाई ६२ किलोमिटर हुनेछ। नेपाल भारत बोर्डर वीरगन्जदेखि अमलेखगन्ज हुँदै चितवनसम्मको एलपी ग्यास पाइपलाइन ९८ किलोमिटर हुने जनाएको छ। पाइपलाइनको क्षमता २ सय ९० किलोलिटर प्रतिघण्टा र एलपी ग्यासको करिब १०० टन प्रतिघण्टा हुने प्रवक्ता गोइतले बताए।

पाइपलाइनपश्चात् लोथरमा इन्धन भण्डारण गर्न डीपो पनि निर्माण गरिने छ। लोथरमा १ लाख किलोलिटरको इन्धन भण्डारण बनाइने छ। एलपी ग्यास २० हजार टन क्षतमाको बनाइने उल्लेख छ। यस परियोजनाको लागत विस्तृत सम्भाव्यता अध्ययनबाट मात्रै एकिन हुनेछ। कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्