काठमाडौं १३ कार्तिक । कौडा खेल्दै गरेको अवस्थामा लमजुङ प्रहरीले जनप्रतिनिधि (वडा सदस्य) र नेतासहित २५ जनालाई पक्राउ गरेको छ । सोमबार राति २ बजेतिर बेंसीसहर नगरपालिका ११, चिती तिलाहर नजिकै पुरानो कुखुराको खोरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
डीएसपी रबिन्द्रमान गुरुङले गोप्य सूचनाको आधारमा २५ जनालाई पक्राउ गरिएको र उनीहरुको साथबाट २ लाख १६ हजार ४ सय ३० रुपैयाँ बरामद गरिएको बताए । उनीहरुको साथबाट ३२ थान कोडासमेत बरामद गरिएको छ । २ खाल गरेर कौडा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई समातेको उनले बताए ।
प्रहरीका अनुसार बेंसीसहर नगरपालिका १ का ११ जना, बेंसीसहर नगरपालिका ११ का १२ जना र सुन्दरबजार नगरपालिका ९ का २ जनालाई पक्राउ गरिएको छ । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा बेंसीसहर नगरपालिका १ मा कांग्रेसबाट निर्वाचित वडा सदस्य गौबहादुर गुरुङ र नेकपा बेंसीसहर नगर कमिटी अध्यक्ष राजकुमार विष्टलगायत छन् ।
प्रहरीका अनुसार उनीहरु कोही खेल्दै गरेका र कोही हेर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो ।