काठमाडौं १९ कार्तिक । चिकित्सा क्षेत्रको सुधारका लागि लड्दै आएका प्राडा गोविन्द केसीले डडेल्धुरामा अनशन सुरु गरेका छन्। डा केसीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा १७ औं अनशन सुरु गरेका हुन्।
सोमबार बेलुकी ५ बजेदेखि सदरमुकामको तुफानडाँडामा अनशन सुरु गरेका डा. केसीले सात बुँदे माग अघि सारेका छन्।
पूर्वघोषणा अनुसार डा. केसी अनशन बस्न सोमबारै कसैलाई जानकारी नदिई डडेल्धुरा पुगेका थिए।
अनशन बस्नुअघि डा. केसीले डडेल्धुरा अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षण समेत गराएका थिए। उनले रगतको नमूना समेत दिएका छन्।
उनी डडेल्धुरा अस्पतालको एक सय मिटर दुरीमा रहेको निर्मल क्लिनिक फार्मेसी भएको घरमा अनशन बसेका छन्। अनशन बस्नुअघि डा. केसीले एक हाफ चाउमिन र ५० ग्राम मिठाई खाजा खाएका थिए। सरकारलाई सोमबार बेलुकासम्मको अल्टिमेटम दिएका डा केसीले आफूसँग भएका सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका छन्।
यसभन्दा पहिला पनि डडेल्धुरा आएका बेला डा. केसीले पूर्वप्रधानमन्त्री देउवाको गृह जिल्लामा अस्पतालको अवस्था देखेपछि चिन्ता व्यक्त गरेका थिए।