Logo

नेकपामा उम्मेदवारीको रडाको : भक्तपुरमा तालाबन्दी, बाग्लुङमा असन्तुष्टि



काठमाडौं २१ कार्तिक । ०७४ को प्रदेशसभा निर्वाचनमा भक्तपुर १ (१) मा तत्कालीन माओवादी केन्द्रका डीपी ढकाल वाम गठबन्धनका आधिकारिक उम्मेदवार थिए । तर एमालेतर्फका हरिशरण लामिछाने बागी उठिदिए ।

अधिकारिक उम्मेदवार ढकालले ७८६ मत मात्र पाउँदा लामिछाने १२ हजार ७ सय ८९ मत ल्याएर विजयी भए । लामिछानेको गत वैशाख ३१ मा हृदयाघातबाट निधन भयो । आइतबार बसेको नेकपाको सचिवालय बैठकले उपनिर्वाचनमा फेरि ढकाललाई नै उम्मेदवार बनाएको छ । यो निर्णयले नेकपा भक्तपुरमा विवाद चुलिँदा झडपकै स्थिति सिर्जना भएको छ । असन्तुष्ट पूर्वएमाले पक्षले जिल्ला कार्यालयमा तालाबन्दी गरेको छ ।

यसले भक्तपुरमा नेकपाको चुनावी अभियान नै प्रभावित बनेको छ । पूर्वएमाले समूहको तालाबन्दीका कारण पूर्व माओवादी समूहलाई झस्काएको छ । पार्टी एकीकरण पश्चात पूर्व समूहको आधारमा झडपको स्थिति सिर्जना हुनेगरी देखिएको विवादले अन्तर्घातको खतराको घण्टी बजेको ठम्याइ केही नेताको छ । पूर्व माओवादी समूहका भक्तपुर जिल्ला कमिटी एक सदस्य भन्छन्, ‘उपचुनावको उमेदवार चयनलाई लिएर यहाँ जे विवाद देखियो यसले चुनाव प्रभावित पार्ने सम्भावना छ । तत्काल असन्तुष्ट मतलाई सम्बोधन गरिएन भने यो अन्तरर्घातको तहमा पुग्न सक्छ । त्यस्तो भयो भने चुनावी नतिजा नेकपाका लागि अनुकुल नहुन सक्छ ।’

गत निर्वाचनमा उम्मेदवार भई ७८६ मत ल्याएका ढकाललाई उम्मेदवार बनाउँदा पार्टीको जित सुनिश्चित नहुने भएकाले सहज रूपमा जित्ने नेतालाई टिकट दिनुपर्ने मागसहित तालाबन्दी गरिएको जिल्ला कमिटी सदस्य साधुराम दाहालले बताए । पार्टीले निर्णय फिर्ता लिएर अर्को उम्मेदवार चयन नगरेसम्म तालाबन्दी जारी राखिने असन्तुष्ट पक्षको भनाइ छ । उम्मेदवार चयनको विषयलाई लिएर केही असन्तुष्टि देखिए पनि पार्टी केन्द्रको निर्णयलाई मिलेर जानुको विकल्प नरहेको भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले बताए ।

‘उम्मेदवारी मनोनयन गर्ने बेलासम्म कसैले आफ्ना असन्तुष्टि पोख्ने कुरा स्वाभाविक हुन् । पहिला पनि यो क्षेत्रमा यस्तै लफडा भएको थियो । अहिले पनि केही समस्या देखियो । तर हामी सबै एकताबद्ध भएर चुनावमा जान्छौँ । अन्तरर्घातको खतरा छैन । चुनावी परिणाम हाम्रो पक्षमा हुन्छ’उनले भने । नेकपा भक्तपुर जिल्ला कमिटीले रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, डीपी ढकाल र नारायणी दङ्गालको नाम सिफारिस गरेको थियो ।

बाग्लुङमा पनि समस्या
यस्तो समस्या भक्तपुरमा मात्रै होइन बाग्लुङमा पनि देखिएको छ । बागलुङ् निर्वाचन क्षेत्र २ (२)बाट निर्वाचित राष्ट्रिय जनमोर्चाका सांसद टेकबहादुर घर्तीको निधन पश्चात रिक्त क्षेत्रमा पनि उपचुनाव हुँदैछ । आइतबार बसेको सचिवालय बैठकले विगतको गठबन्धलाई निरन्तरता दिँदै प्रदेशसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चालाई सघाउने निर्णय गरेपछि त्यहाँपनि नेकपा नेताहरु असन्तुष्ट छन् ।

शिर्ष तहमै आशंका
२९ असोजमा गृहजिल्ला चितवन पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहालले एक कार्यक्रममा पार्टीभित्र अन्तर्घातको खतरा औंल्याएका छन् । चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणको क्रममा नेकपा नेताहरुसँग भएको भेटको सन्दर्भ निकाल्दै प्रचण्डले भनेका थिए,‘चिनियाँ राष्ट्रपतिले हामीहरुको प्रशंसा गर्दैगर्दा कतै उहाँले हाम्रो आलोचना पनि गरेको हो कि जस्तो हामीलाई लाग्यो । नेकपाका नेता कार्यकर्तालाई तिमीहरु आराजक छौ, स्वार्थी छौ । आफ्नो गुटको अनुशासन मान्छौ, पार्टी अनुशासन मान्दैनौ । चुनावमा यो उम्मेदवारलाई उठाउने भनेर निर्णय गर्छौ तर जिताउँदा अर्कै उम्मेदवारलाई जिताउछौ भनेको जस्तो लाग्यो । साथीहरु यो कुरा हामीले आत्मसाथ गर्नुपर्छ ।’ पार्टीभित्रै हुनसक्ने असहयोगको खतरा देखेर कास्की २ बाट सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख वामदेव गौतम पछि हटे ।

४ असोजको सचिवालय बैठकमा दुई अध्यक्षले कास्की–२ बाट चुनाव लड्न गरेको आग्रह अस्वीकार गर्दै नेता गौतमले विज्ञप्ति निकालेर भनेका थिए, ‘यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया-१ बाट उम्मेदवार भएको यहाँहरुमा सर्वविविदै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्‍यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो ।’ कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्