Logo

स्थानीय निर्वाचन नजिकिएसँगै बढ्यो चुनावी सरगर्मी



बेनी, २० फागुन । आगामी वैशाख ३० गते घोषणा भएको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको पक्षमा माहोल बनाउन म्याग्दीका राजनीतिक दलहरु सक्रिय भएका छन् ।

जिल्लाका एक नगरपालिका र पाँच गाउँपालिकासहित ४५ वटै वडाहरुमा जनप्रतिनिधि चुन्नका लागि हुन लागेको स्थानीय तहको निर्वाचनले राजनीतिक दलका नेता तथा कार्यकर्तासँगै सर्वसाधारणलाई समेत उत्साहित बनाएको छ ।

जिल्लामा रहेका मुख्य राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतले निर्वाचन केन्द्रित अभियान सञ्चालन गरिरहेका छन् । राजनीतिक दलको यो अभियानसँगै निर्वाचनको सरगर्मी बढ्न थालेको छ । भेला, बैठक र प्रशिक्षणका कार्यक्रम लिएर दलका नेताहरु गाउँ–गाउँ पुग्न थालेपछि ग्रामीण भेगसम्म नै चुनावी सरगर्मी बढेको हो ।

आगामी निर्वाचनमा वडादेखि पालिकासम्मको नेतृत्वमा पुग्न आकाङ्क्षीहरुले आ–आफ्नो दलभित्र समेत आफ्नो दाबेदारी राख्न थालिसकेका छन् भने स्वतन्त्र रुपमा उम्मेदवारहरुसमेत खुल्न थालेका छन् । सङ्घीयताको पहिलो कार्यकाल अलमलमै बिते पनि आगामी निर्वाचनमा आफ्नो दललाई विजयी गराउन अनुरोध गर्दै जनप्रतिनिधिसहित दलका नेता तथा कार्यकर्ताहरु गाउँघरमा भोट माग्न थालिसकेका छन् । म्याग्दीमा रहेका ६ स्थानीय तहमध्ये दुईमा एमाले र चारमा कांग्रेसले नेतृत्व गरेका छन् । स्थानीय तह निर्वाचनपछि भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।

एमाले विगतमा स्थानीय तह निर्वाचनमा गुमेको साख फर्काउने योजनामा छ । कांग्रेसले आफ्नो साख जोगाउँदै पहिलो शक्तिका रुपमा स्थापित हुने प्रयत्नमा देखिन्छ भने नेकपा ९माओवादी केन्द्र०ले एमाले र कांग्रेसकै हाराहारीमा नतिजा ल्याउने योजनामा अघि बढेको देखिन्छ । जनताको नजिकको सरकारका रुपमा रहेको स्थानीय तहको नेतृत्वका लागि जिल्लास्थित राजनीतिक दलका पदाधिकारी र नेताहरुसमेत इच्छुक देखिएका छन् ।

स्थानीय तह र वडास्तरमा रहेका पार्टीका कमिटीहरुको बैठक राखेर निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको एमाले म्याग्दीले जिल्ला कमिटीको बैठकबाट थप निर्वाचन लक्षित योजना बनाएको छ । “सबै शक्ति अब चुनावमा केन्द्रित गर्छौं, पार्टी सङ्गठनसँगै विभिन्न जनवर्गीय सङ्गठनहरु चुनावी अभियानमा सक्रिय भएका छन्, भेला, बैठक, प्रशिक्षणका कार्यक्रमले थप व्यापकता पाउँछन्”, एमाले म्याग्दीका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीले भने । उनका अनुसार, पालिका कमिटीहरुले निर्णय गरेर टोल अभियान सञ्चालन गरेका छन् ।

वडा कमिटीको नेतृत्वमा सञ्चालन भएको टोल अभियानमा जिल्लास्तरका नेताहरुसमेत पुग्ने गरेका छन् । नेपाली कांग्रेस म्याग्दीले जिल्ला कार्यसमितिको बैठक नै राखेर औपचारिक रुपमा चुनावी अभियान सञ्चालन नगरेको भए पनि पालिका र वडा कमिटीहरुले स्वतन्त्र रुपमा चुनावी अभियानलाई तीव्रता दिएका छन् । अहिले वडा र पालिकामा रहेका कार्यसमितिमार्फत टोल कमिटी गठन, भ्रातृसंस्थाहरुको पुनर्गठन, र सङ्गठन विस्तार तथा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन भइरहेको कांग्रेस म्याग्दीका सचिव भरतबहादुर रकालले जानकारी दिए ।

“पार्टी सभापतिले निकट दिनमा जिल्ला कार्यसमितिको बैठक आह्वान गर्ने तयारी गरेका छन्, कुनै न कुनै रुपमा अहिले नेता तथा कार्यकर्ताहरुको सक्रियता पार्टीकै गतिविधि र कार्यक्रममा छ,” उनले भने । कांग्रेस म्याग्दीमा सम्भावित उम्मेदवारहरुको टुङ्गो लगाउन र प्रतिस्पर्धीहरुबीच सर्वसम्मत रुपमा उम्मेदवारको टुङ्गो लगाउनका लागिसमेत आन्तरिक छलफल अघि बढेको छ ।

यसअघिको जनमतका आधारमा तेस्रो शक्तिका रुपमा रहेको नेकपा (माओवादी केन्द्र) म्याग्दीले यस पटकको स्थानीय तह निर्वाचनमा अन्य दुई दलकै प्रतिस्पर्धामा आफ्नो सङ्गठनको स्थान बनाउने रणनीतिका साथ चुनावी अभियानलाई अघि बढाएको छ । पालिका कमिटीहरुको बैठकमार्फत वडा कमिटी हुँदै टोल र सेल कमिटी गठन गर्ने र जनवर्गीय सङ्गठनहरुको पुनर्गठन र विस्तारका कार्यक्रमलाई अघि बढाइएको माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली (सुविन)ले बताए ।

“स्थानीय तहको निर्वाचनका लागि सबै पालिका र वडा कमिटीहरुलाई चुनावमा केन्द्रित हुन भनेका छौँ, सबै पालिका र वडा कमिटीहरु क्रियाशील बनेका छन्, यस पटक माओवादीको सुदृढ सङ्गठनले जिल्लामा मजबुत नतिजा ल्याउने गरी अघि बढेका छौँ”, संयोजक जुग्जालीले भने । उनका अनुसार, चुनावी प्रशिक्षण र अभियानलाई थप व्यापक बनाउने तयारी गरिएको छ । जिल्लामा माओवादीबाट निर्वाचित वडाध्यक्षहरुले अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिले भन्दा नमूना र सफल काम गरेको दाबी गर्दै सङ्घीयता माओवादीको एजेन्डा भएकाले हाम्रो नेतृत्वले मात्र त्यसको सफल कार्यान्वयन गर्ने भएकाले यस पटक आफ्नो पक्षमा जनमत बढ्ने माओवादीको विश्वास छ ।

एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले समेत आफ्नो सङ्गठनलाई जिल्लाको सबै पालिका स्तरमा विस्तार गर्ने गरी गतिविधिलाई तीव्रता दिएको छ । पार्टी सङ्गठन निर्माणसँगै जनवर्गीय सङ्गठन निर्माण र चुनाव लक्षित भेला तथा प्रशिक्षणका गतिविधि अघि बढाइएको नेकपा ९एकीकृत समाजवादी०का जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए । जिल्लामा एमाले, कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) सँगै राप्रपा, मङ्गोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय जनमोर्चा, जनमुक्ति पार्टी लगायतको समेत सङ्गठन छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तह निर्वाचनमा भाग लिनेबारे अझै स्पष्ट पारिसकेको छैन । मुख्य तीन पार्टीबीच एक्लाएक्लै प्रतिस्पर्धा गर्ने अवस्था आएमा साना पार्टीका मतदातासमेत कतिपय वडा र पालिकामा निर्णायक बन्ने देखिएको छ । राजनीतिक दलबाहेक स्वतन्त्र रुपमा समेत उम्मेदवारी घोषणा हुन थालेको छ । रघुगङ्गा गाउँपालिका–२ भगवतीका युवा सागर भण्डारीले गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेर आफ्ना चुनावी एजेन्डाहरु नै अघि सारिसक्नुभएको छ भने बेनी नगरपालिका–१ रत्नेचौर घर भई हाल प्रवासमा रहनुभएका युवा निराजन थापाले समेत ‘लक्ष्य २०७९’ घोषणा गरी बेनी नगरपालिकाको प्रमुखमा उठ्ने घोषणा गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot