Logo

घरभित्रै जरो गाडेको असमानता निर्मूल नपारेसम्म देशको आर्थिक सामाजिक विकास हुँदैनः मन्त्री रेग्मी



काठमाडौं, २४ फागुन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले घरभित्रै जरो गाडेको महिला हिंसा र असमानतालाई निर्मूल नपारेसम्म देश र समाजको आर्थिक सामाजिक विकास नहुने धारणा राखेकी छिन् ।

आज ११२औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री रेग्मीले यस्तो बताएकी हुन् ।

महिलाको प्रतिनिधित्व राजनीतिक, आर्थिक एवं सामाजिक क्षेत्रमा क्रमशः वृद्धि भएको तथा मातृ मृत्युदरमा उल्लदेखनीय सुधार, महिलाको कूल साक्षरतादरमा वृद्धि एवं आर्थिक सशक्तीकरणका सूचकमा सकारात्मक परिवर्तन भइरहेको भए पनि समाजमा विद्यमान पितृसतात्मक सोच र व्यवहारलाई निवारण गर्न नसक्नु चुनौतीको विषय भएको उनको धारण थियो ।

साथै, उनले घरेलु हिंसा, बोक्सीको नाममा हुने ज्यादती, बलात्कार, यौनहिंसा, अमर्यादित महिनावारी, दाइजो प्रथा, बालविवाह, बहुविवाह, मानव बेचबिखन जस्ता स्वरुपमा विद्यमान विकृतिले महिलालाई सम्मान गर्ने हाम्रा मौलिक सभ्यताको उपहास भइरहेको टिप्पणी गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्