Logo

चुनाव प्रचार अभियानमा गठबन्धनको विरोध नगर्न देउवाको आग्रह



काठमाडौं, २४ फागुन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीयदेखि सङ्घीय तहमा हुन गइरहेको निर्वाचनमा पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा वर्तमान सत्तारूढ गठबन्धनको विरोध नगर्न आग्रह गरेका छन् ।

आज पार्टी कार्यालयमा बसेको पार्टीका शीर्षनेता र केन्द्रीय सदस्यको बैठकमा उहाँले सानातिना मतभेदलाई बिर्सेर पार्टीलाई बहुमत दिलाउन आग्रह गर्दै कांग्रेसको पक्षमा माहोल बनाउनुपर्नेमा जोड दिए ।

सभापति देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा वर्तमान सत्तारूढ गठबन्धनको विरोध नगर्नसमेत आग्रह गरेको बैठकमा सहभागी केन्द्रीय सदस्य नैनसिंह महरले बताए । कांग्रेसले आसन्न चुनाव लक्षित गरेर यही २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

बैठकमा नेता महरले ‘घरघर जाऔँ कांग्रेस जिताऔँ’ को सट्टा ‘निःशुल्क स्वास्थ्य र शिक्षासँगै सर्वसुलभ यातायात, सञ्चार र रोजगार, जनताको अधिकार र कांग्रेसको कार्यभार’ नारा राख्नुपर्ने प्रस्ताव गरेका थिए । आगामी निर्वाचनलाई लक्षित गरी अभियान र रणनीति तय केन्द्रीय समितिको बैठकबाटै हुनुपर्ने उनको भनाइ छ । गठबन्धन गर्दा स्थानीय स्तरको आवश्यकताअनुसार गर्न दिनुपर्नेमा उनको जोड थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot