Logo

महिलामैत्री कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्धः मन्त्री थापा



गण्डकी, २५ फागुन । गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले महिलामैत्री कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । मङ्गलबार ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पोखराको रेडियो जननी ९०.६ मेगाहर्जले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘व्यवसायमा महिला, अवसर र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई उनले सो कुरा बताएका हुन् ।

मन्त्री थापाले समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा विस्तारै परिवर्तन हुँदै आएको र व्यावसायिक, राजनीतिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा महिलाको सहभागिता उल्लेखनीय बन्दै गएको बताउनुभयो । उनले व्यावसायिक क्षेत्रमा महिलाको आर्कषण बढाउन प्रदेश सरकारले सहज नीति निर्माण गर्दै आइरहेको बताए ।

मन्त्री थापाले प्रदेश सरकारले कोभिड प्रभावित व्यावसायिक क्षेत्रलाई ब्याज सरकारले नै तिर्ने गरी कर्जा उपलब्ध गराउन लागेको जानकारी गराए । यसका लागि चालु आर्थिक वर्षको जीवनरक्षा कोषमा रु एक अर्ब राखिएको उनको भनाइ छ । सामाजिक, राजनीतिक, प्रशासनिक, सांस्कृतिक क्षेत्रमा महिला पुरुषमा देखिएको विभेदको अन्त्य गर्न सम्बद्ध सङ्घसंस्थाले महिला जागरणसम्बन्धी तालिम समय–समयमा गरिराख्नुपर्ने उनले बताए ।

यस्तै, उनले गण्डकी प्रदेश सरकारले स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचार गर्ने निर्णय गरेको रक्यान्सरपीडितका लागि नेपाल सरकारले रु एक लाख र गण्डकी प्रदेश सरकारले रु ५० हजार उपलब्ध गराउँदै आएको जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्