Logo

जनताबाट आशा र विश्वास आर्जन गरिरहेका छौँः माधव नेपाल



काठमाडौं, २५ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको विरासतलाई जोगाउँदै जनताको आशा, भरोसा र विश्वासको केन्द्रका रुपमा आफ्नो पार्टीलाई स्थापित गर्ने दृढता व्यक्त गरेका छन् ।

पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको आज शुभारम्भ गर्दै उनले कम्युनिष्ट क्रान्तिकारीधारको विरासतलाई काँधमा बोकेर अघि बढ्ने सङ्कल्पका साथ एमालेबाट विद्रोह गर्न परेको घटना सुनाए ।

उनले भने, “राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, सामाजिक न्याय, समानता र रुपान्तरणको सवालमा जनताबाट आशा र विश्वास आर्जन गरिरहेका छौँ ।” नेता तथा कार्यकर्ताको कार्यशैली, आचरण र व्यवहारलाई नितान्त जनअपेक्षाअनुरुप सुधार्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले कम्युनिष्ट पार्टीको इज्जत जोगाउने मात्र नभई लक्ष्य र योजनालाई साकार तुल्याउन दृढताका साथ अघि बढ्न जरुरी रहेको बताए ।

अध्यक्ष नेपालले भने, “जनतासँग एकाकार भएर अघि बढ्छौँ, जनतालाई सचेतना प्रदान गर्छौं, कार्यकर्तालाई योग्य तुल्याउँछौँ, पार्टीका सम्पूर्ण ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ, योजना र शक्ति परिचालन निर्वाचनमुखी हुनेछ ।”

गठबन्धन दलका घटकसँग निर्वाचनमा पनि मिलेर जान सकिने बताउँदै उनले भने, “आफ्नो शक्तिका बारेमा जानकारी लिएर सही मूल्याङ्कन र विश्लेषण हुन प¥यो, एमसिसीका नाममा गठबन्धन तोड्ने अनेकौं प्रयास भए पनि गठबन्धनबीचको सहमति कायम रहने छ ।”

बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, नेता राजेन्द्र पाण्डे, मेटमणि चौधरी, गङ्गालाल तुलाधरसहित केन्द्रीय कमिटीका ३३५ सदस्य सहभागी रहनुभएको जानकारी दिइयो । यसअघि उक्त पार्टीले पहिलो पूर्ण बैठक गत असोज र दोस्रो बैठक कात्तिकमा सम्पन्न भएको थियो । रासस/तस्बिरः नवीन पौडेल÷रासस



प्रतिक्रिया दिनुहोस्