Logo

अखाद्य वस्तुको बिक्रीवितरण रोक्न सरकार प्रतिबद्धः गृहमन्त्री खाँण



काठमाडौं, १ चैत । गृहमन्त्री बालकृष्ण खाँणले उद्योगी, व्यवसायी उपभोक्ताको हितप्रति संवेदनशील बन्नुपर्ने बताएका छन् ।

विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौँ महानगरपालिकाद्वारा आज आयोजित कार्यक्रममा उनले व्यवसायी पनि कुनै वस्तुको उपभोक्ता भएकाले उपभोक्ताको हितप्रति सबै पक्ष गम्भीर बन्नुपर्ने बताएका हुन् ।

गृहमन्त्री खाँणले उपभोक्ता अधिकार स्थापित गराउन सरकार गम्भीर रहेको उल्लेख गर्दै अखाद्य वस्तुको बिक्रीवितरण रोक्ने प्रतिबद्धता जनाए । उनले अखाद्य वस्तुको उपभोगमा उपभोक्ता स्वयम् सचेत हुनुपर्नेमा जोड दिए । संविधान, ऐन कानुनमा भएका उपभोक्ता अधिकारसँग सम्बन्धित प्रावधानको कार्यान्वयन गर्न सरकारपछि नपर्ने बताउँदै उनले उद्योगी व्यवसायीलाई पनि जनताप्रति उत्तरदायी बन्न आग्रह गरे ।

“व्यवसायी पनि कुनै न कुनै रुपमा उपभोक्ता नै हुनुहुन्छ, सरकार उद्योगी व्यवसायीलाई हतोत्साहित गर्न चाहँदैन, व्यवसायी पनि उपभोक्ताको हितप्रति संवेदनशील हुने विश्वास गरेको छु”, उनले भने । गृहमन्त्री खाँणले दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा उपभोक्तामा मार परेकामा सरकार जानकार रहेको उल्लेख गर्दै सरकारले उपभोग्य वस्तुको मूल्यलाई नियन्त्रणमा राख्न अधिकतम पहल गरिरहेको जानकारी दिए । “मूल्यवृद्धिको प्रमुख कारकका रुपमा पेट्रोलियम पदार्थको मूल्य रहेको छ, सरकारले पेट्रोलियम पदार्थको मूल्यलाई पनि सकेसम्म नियन्त्रणमा नै राखेको छ”, उनले भने, “व्यापार घाटा न्यूनीकरण र आयात निरुत्साहित गर्नेमा सरकारको ध्यान गएको छ ।”

गृहमन्त्री खाँणले मुलुकको व्यापार घाटाको ठूलो हिस्सा पेट्रोलियम पदार्थ रहेको बताउँदै विद्युतीय उपकरणको प्रयोग बढाउनुपर्नेमा जोड दिए । उनले स्थानीय उत्पादनको प्रयोगलाई बढवा दिन नागरिक सचेतना बढाउनुपर्ने र यसमा उपभोक्ता अधिकारकर्मीको महत्वपूर्ण भूमिका हुने बताए ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल श्रीवास्तवले उपभोक्ता अधिकार प्रत्याभूत गराउन सरकारले ध्यान दिनुपर्ने बताए । उपभोक्ता स्वयम् सचेत नहुँदासम्म उपभोक्तामाथिको ठगी नरोकिने भन्दै उनले उपभोक्ता सचेतना बढाउनुपर्नेमा जोेड दिए । रासस/तस्बिरः नवीन पौडेल÷रासस



प्रतिक्रिया दिनुहोस्