जनकपुर, २ चैत । मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार एक दम्पतीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतबाट २२ वर्ष कैद र रु दुई लाख ५० हजार जरिवानाको सजाय पाएर फरार जनकपुुरधाम उपमहानगरपालिका–१३ का ४२ वर्षीय रामजी पासवान र रु एक लाख ५० हजार जरिवानाको सजाय पाएका पासवानको ३२ वर्षीया श्रीमती बिभा पासवानलाई धनुषा प्रहरी पक्राउ गरेको हो ।
अदालतबाट फैसला भएपश्चात फरार रहेका दुवै जनालाई जनकपुरधाम उपमहानगरपालिका १३ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । धनुषा जिल्ला अदालतले गत २०७७ माघ २२ गते दम्पतीलाई सो सजायको फैसला गरेको थियो ।रासस