Logo

टिनको छाप्रोमा एक कक्षाः जहाँ विद्यार्थीहरु एक हातले घाम छेक्दै एक हातले लेख्छन्



तुलसीपुर, ३ चैत । वरिपरी टिनले बेरिएको छ । त्यही टिनले बेरिएको छाप्रोभित्र शिक्षकले विद्यार्थीलाई पढाइरहेका छन् । छाप्रोभित्र चैतको पारिलो घाम छिरेको छ । शिक्षिकाले सलले निधारमा परेको घाम छेक्दै ‘ह्वाईट बोर्ड’मा लेखिरहेकी हुन्छिन् ।

विद्यार्थीहरु एक हातले कपीले निधारमा परेको घाम छोपिरहेका हुन्छन्, भने एक हातले शिक्षिकाले भनेको कुरा कापीमा टिपिरहेका हुन्छन् । यही चित्र देखिन्छ्, सुगम जिल्लाको विकट क्षेत्रमा रहेको अम्बासको एक विद्यालय । तुलसीपुर उपमहानगरपालिका– ३ अम्बासमा पर्ने त्यो विद्यालयका ३ वटा कक्षाका विद्यार्थीले टिनको छाप्रोमा पढिरहेका हुन्छन्, भने एउटा कक्षाका विद्यार्थी बाहिरै पढिरहेका हुन्छन् ।

विद्यालयमा प्रर्याप्त भवन नहुँदा यही कात्तिकदेखि यसरी बाहिरै पढाइ भइरहेको छ । हिउदमा बाहिर पढ्दा पनि त्यति समस्या भएन्, तर अब गर्मीयाम सुरु भएकाले निकै समस्या हुने गरेको शिक्षिका कमला शर्माले बताए ।“हिउदमा त ठिकै थियो, अब गर्मी समय भयो, घामले निकै पोल्छ, हावाहुरी लाग्दा टिन खसेर चोट लाग्ने हो की भन्ने उत्तिकै डर छ”,उनले भने“पानी प¥यो भने पनि कसरी पढाउने भन्ने समस्या छ ।”

एउटा कक्षाका विद्यार्थीलाई पढाएको कुरा अर्को कक्षाका विद्यार्थीले सुन्छन् । एकातर्फ हो–हल्ला गरेको अर्को तिर सुनिन्छ । विद्यार्थीहरुले एकातिर पढाएको कुरा अर्कैतिर सुनिने भएकाले बुझ्न पनि समस्या हुने गरेको बताउने गरेका छन् ।“विद्यार्थीहरुको होहल्लाले पनि पढ्न गाह्रो हुन्छ, एकातिर पढाएको अर्को तिर सुनिन्छ”,कक्षा ७ मा अध्ययनरत छात्रा प्रतिक्षा गुरुङले भने“छिटो कक्षाकोठा बनाएको भए हुन्थ्यो, हामीलाई पढ्न निकै समस्या भयो ।” अहिले कक्षा ४,५,६ र ७ का विद्यार्थीहरु यसरी छाप्रो र खुल्ला चौरमा पढ््न बाध्य छन् । २०२८ सालमा स्थापना भएको उक्त विद्यालयका भवन पूराना भएका थिए ।

पुराना भवनलाई भत्काएर नयाँ भवन निर्माण गर्ने कार्य अघि बढ्यो । तर, समयमै विद्यालय भवन निर्माण पूरा नभएपछि अहिले यसरी बाहिर राखेर पठनपाठन गर्न बाध्य भएको विद्यालयका प्रधानाध्यापक फस्टबहादुर राणाले बताए । “हामीकहाँ एउटा पुरानो भवन थियो, त्यही भवनमा विद्यार्थीले पढ्ने गरेका थिए, त्यो विद्यालय चुहिने खालको निकै जीर्ण थियो”,उनले भने“नयाँ भवन निर्माण गर्नुपर्ने अवस्था भयो, तर अन्य ठाउँमा हामीसँग जग्गा भएन, त्यसपछि भएको भवनलाई भत्काएर भए पनि नयाँ भवन बनाउनुपर्ने भयो, त्यही क्रममा पहिले भएको भवन भत्काएर नयाँ भवन निर्माण गर्न थालिएकाले अहिले बाहिर पढाउनु पर्ने बाध्यता छ ।”

त्यहाँ भएको भवन गएको कात्तिकमा भत्काएर नयाँ निर्माण थालिएको हो ।तर, अहिलेसम्म त्यहाँ काम एकरत्ति पनि अगाडि बढ्नसकेको छैन । छाया नेपालले सँगसँगै निर्माण थालेको तुलसीपुर ७ कालाखोलास्थित भवनको काम अन्तिम चरणमा पुगेको छ । तर,अम्बासको भवन निर्माणको काम भने सुस्त गतिमा छ । विद्यालयका प्रअ राणाका अनुसार असारमसान्तसम्म सक्ने गरी सम्झौता भए पनि विद्यार्थीको पठनपाठनलाई मध्येनजर गरी त्यो भन्दा छिट्टै पूरा गर्ने गरी अगाडि बढ्ने आश्वासन दिइएको थियो । तर, त्यो आश्वासन अनुसार काम नहुँदा अहिले विद्यालयले छाप्रामा पढाउनुपर्ने बाध्यता रहेको गुनासो गरे ।“पानी पर्न थाल्यो भने, हावाहुरी लाग्न थाल्यो भने विद्यालय बन्द हुने अवस्था रहेको छ”,उनले भने “यसले विद्यार्थीको पठनपाठनमा निकै समस्या पार्ने देखिन्छ ।”एक करोड ४३ लाख लागतमा ८ कोठाको उक्त भवन निर्माण हुन लागेको हो । कक्षा १० सम्म सञ्चालित उक्त विद्यालयमा अहिले २४५ विद्यार्थी छन् । त्यहाँ सोही वडाको थापापानी, बल्ले, टिमगैरा, टुनापानी, सितेधारा, सिस्नेरी, कल्ले, बल्ले, अम्बास, बोहरागाउँ, गहिरा नाउलालगाायतबाट आउने गर्छन् । अहिले विद्यालयमा १४ जना शिक्षक कर्मचारी कार्यरत रहेको प्रअ राणाले बताए ।

शौचालय समस्या

विद्यालयमा शौचालयको पनि समस्या छ । एउटा शौचालय छ । त्यो पनि निकै फोहर छ । पानी नभएकाले गर्दा शौचालय निकै दुर्गन्धित हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलामणि बाँठाले बताए । “पानीको निकै समस्या छ”,उनले भने, “खानेपानीसमेत पाउन गाह्रो छ, शौचालय प्रयोग गर्ने कुरा त टाढाको कुरा भयो, त्यसले गर्दा पनि शौचालय निकै दुर्गन्धित बन्ने गरेको छ ।”

त्यो विद्यालय पढ्न तीन घण्टा हिँडेर आउनुपर्ने अवस्था छ । गाउँ पनि सानो भएको र नजिकमा विद्यालय नभएकाले धनवासका विद्यार्थी २÷३ घण्टा हिँडेर विद्यालय आउनुपर्ने बाध्यता रहेको छ ।“यो विद्यालयमा टाढाटाढाबाट पढ्न आउनुहुन्छ”, अध्यक्ष बाँठाले भने “धनवासबाट यहाँ पढ्न आउन २÷३ घण्टा लाग्छ ।” रासस



प्रतिक्रिया दिनुहोस्