Logo

भरतपुर महानगरपालिकाद्वारा छात्रालाई साइकल वितरण



चितवन, ५ चैत । भरतपुर महानगरपालिकामा विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका ६० छात्रालाई साइकल वितरण गरिएको छ । महानगरपालिकाले जोखिममा परेका ‘महिलासँग मेयर’ कार्यक्रमअन्तर्गत साइकल वितरण गरेको हो ।

दुई वर्षअघिदेखि सुरु गरिएको कार्यक्रमअन्तर्गत यस पटक भरतपुरका वडा नं १८, १९ र २० का आठ विद्यालयका ६० छात्रालाई साइकल वितरण गरिएको हो । महानगरपालिकाको सामाजिक महाशाखाका अनुसार महानगरले हालसम्म ५२४ छात्रालाई साइकल प्रदान गरिसकेको छ ।

विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजनाअन्तर्गत साइकल वितरण गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन् ।

महानगरले यस वर्ष १० वडाका २०० छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ । बाँकी रहेका वडाका विद्यालयलाई केही दिनमा साइकल वितरण गरिने उनले बताइन् । एक समारोहका बीच महानगर प्रमुख दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले संयुक्तरुपमा पश्चिम चितवनको भीमनगर माविबाट साइकल वितरण गरेको थियो ।

सो अवसरमा प्रमुख दाहालले विकासको गतिले अगाडि बढेको भरतपुरमा शैक्षिक सुधारका लागि स्थानीय सरकारले गर्नुपर्ने शैक्षिक सुधारकै कारण पाँच हजारभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयमा बढेको जानकारी दिइन् । उनले महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको बताइन् ।

उनका अनुसार महानगरभित्रका सरकारी विद्यालयको शैक्षिकस्तर विकासका लागि भौतिक संरचना विकासमा धमाधम काम भइरहेको छ । उपप्रमुख ठकुरीले विपन्न परिवारका छात्रालाई लक्षित गरी गरिएको यो कार्यक्रमले छात्रालाई विद्यालयमा निरन्तरता गराउन धेरै प्रभावकारी हुने बताइन् ।

उनले महानगरले छात्रालाई नै लक्षित गरी निःशुल्करुपमा सेनेटरी प्याड वितरणदेखि स्कुल बस प्रदानसहितका शैक्षिक सुधारका आधा दर्जन बढी काम गरेको बताइन् । महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले महानगरको शैक्षिक सुधार नीतिले यहाँ शैक्षिक आर्कषण बढेको बताएका थिए । रासस/Filephoto



प्रतिक्रिया दिनुहोस्

Screenshot