काठमाडौं, ५ चैत । त्रिभुवन विश्व विद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानमा मनोमानी ढंगले पदाधिकारी चयन भएको भन्दै प्रजातन्त्रवादी प्राध्यापक संघले आपत्ति जनाएको छ।
संघले एक विज्ञप्ति जारी गर्दै चिकित्सा शास्त्र अध्ययन संस्थानको प्रचलित ऐन, कानुन विपरीतका गतिविधि एवं गैरजिम्मेवार निर्णयले संस्थाको गरिमामा आँच आउने भन्दै त्यस्ता निर्णय सच्याउन माग गरेको छ ।
ुसम्बन्धित विभाग र विभागीय प्रमुखको शैक्षिक अधिकारलाई कटौती गर्नु तथा त्यस्ता विभागमा आवश्यक जनशक्तिको नियुक्ति गर्दा सम्बन्धित विभाग प्रमुख एवं प्राध्यापकसँग समन्वय नगरिनु अत्यन्तै दुखद्पूर्ण छ, विज्ञप्तिमा भनिएको छ । पद र शक्तिको दुरुपयोग गर्दै नेपाल प्रहरीको बल प्रयोग गर्नु, संवादको वातावरण सिर्जना नगर्नु र विद्यार्थीका जायज मागको बेवास्ता गर्नु आपत्तिको विषय भएको संघको भनाइ छ।
संघले तत्काल संवादको वातावरण सिर्जना गर्न माग गरेको छ। संवादको वातावरण सिर्जना नभए आफूहरू आन्दोलनमा उत्रिने संघको चेतावनी छ।