Logo

जीवनको महत्व बुझ्न अध्यात्मिक चिन्तन आवस्यकः डा. आरजु देउवा



धनगढी, १० चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले अध्यात्मिक चिन्तनमा लागेपछि मात्र मानिसलाई जीवनको महत्व थाहा हुने अनुभव सुनाएकी छिन् ।

बुधबार धनगढीमा आयोजित सर्वोदय शान्ति पदयात्राको स्वागत समारोहमा नेत्री डा. देउवाले मानिसको जीवनमा अध्यात्मको महत्व र आवश्यकतासम्बन्धी आफ्ना अनुभव सुनाएकी हुन् । उनले भनिन्, “अध्यात्ममा लागेपछि मानिसलाई नकारात्मक सोच र विचार त्याग्न मद्दत गर्दछ र हरेकको चिन्तनमा सकारात्मक सोच प्राप्त भएपछि मात्र समाज परिवर्तन सम्भव छ ।”

समाजका कैयन् ठूला परिवर्तन, विविध जटिल समस्या एवं द्वन्द्वहरुको समाधानसमेत सकारात्मक सोचबाट मात्र सम्भव भएका अनेक दृष्टान्त प्रस्तुत गर्दै नेत्री डा. देउवाले “अध्यात्मिक चिन्तन र व्यवहारले नै मानिसलाई अफ्नो जीवनका हरेक कठिनाइको सामना गर्न सहयोग पुग्दछ ।”

आफू बिरामी भएर करिब सात महिना जापान बसेका समयको अनुभव सुनाउँदै उनले भनिन्, “म बिरामी भएर जापानमा सात महिना बसेँ, त्यहाँ सबैसँग अन्तक्र्रिया गर्न मलाई भाषाको समस्या थियो, त्यस समयमा म अध्यात्मिक विषयको अध्ययन र चिन्तनमा रमाउन पुगेँ, यसले मेरो उपचार प्रक्रियामा पनि म आफैँलाई प्रेरणा प्राप्त भएको अनुभव गरेँ र जसले गर्दा म छिट्टै निको भएँ जस्तो मलाई लागेको छ ।”

यस्तै, उनले मानवीय जीवनमा नै डा मणिभद्र मुनीजी महाराजको सन्देश, उपदेश तथा मन्त्रको ठूलो प्रभाव रहने विचार राखीन् । मणिभद्र महाराजको तपस्या प्रेरणादायी रहेको चर्चा गर्दै कांग्रेस नेत्री डा. राणाले भनिन्, “उहाँले ४० वर्षदेखि हिँड्दै आउनुभएको छ । ८५ हजार किलोमिटर हिँड्ने उहाँको क्षमता र आत्मशक्ति अतुलनीय छ ।”रासस



प्रतिक्रिया दिनुहोस्