Logo

रमेश बाहुनद्वारा ५० लाख क्षतिपूर्ति मागसहित मुद्दा दायर



काठमाडौं, १२ चैत । दृष्टि साप्ताहिक विरुद्ध ५० लाखको क्षतिपूर्तिको मागसहित गाली बेइजतीको मुद्दा दर्ता भएको छ ।

दृष्टि साप्ताहिकका सम्पादक तथा प्रकाशक शम्भु श्रेष्ठविरुद्ध ५० लाख क्षतिपूर्तिको मागदाबी सहित हाल केन्द्रीय कारागारमा कैद रहेका रामेछाप निवासी रमेश बाहुन भनिने सुजन कुमार पौडेलले शम्भु श्रेष्ठविरुद्ध मुद्दा दायर गरेका हुन् ।

उनले चैत ८ गते दृष्टि साप्ताहिकमा ‘जेल नसार्न गृहमन्त्री गुहार्दै’ शीर्षकको समाचारप्रति आपत्ति जनाउँदै मुद्दा दायर गरेको बताएका छन् ।

उनले गुण्डानाइकेको संज्ञा दिँदै जेलबाटै हप्ताअसुली गरेको, नेतामार्फत भिमफेदी वा अन्य दुर्गम क्षेत्रका कारागारमा सार्नबाट रोकेको, जेलबाटै फिरौतीको धन्दा चलाएको, जेलमा नाईकेको रुपमा व्यापार गरी मासिक ५ लाखभन्दा बढी आम्दानी गर्दै आएको, नेपाली काँग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेलाई प्रभावमा पारी केन्द्रीय कारागारमै रहने वातावरण तयार गरेको, काफ्लेले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर बाहुन डनलाई कारागार नसार्न पटकपटक अनुरोध गरेको, काँग्रेस केन्द्रीय सदस्य काफ्लेलाई आगामी प्रदेशसभामा जिताउन बाहुन डनले गुण्डादेखि अर्थसम्मको प्रवन्ध गरिदिने प्रस्ताव गरेको लगायतका झुठा कुरा लेखेर समाचार प्रकाशन गरिएकोमा आपत्ति जनाउँदै मुद्दा दायर गर्नुपरेको बताएका छन् ।

पौडेलले २०७१।०३।११ देखि आफू बिना कसुर जेलमा रहेको दाबी पनि गरेका छन् । फिरादमा विपक्षीबाट फिरादीलाई डन र गुण्डानाइके भनी सम्बोधन गरिएकोप्रति पनि आपत्ति जनाईएको छ ।
संविधानको धारा १६ अन्तर्गत शान्तिपूर्णरुपमा सम्मानपूर्वक बाँच्न पाउने हक तथा धारा १७ अन्तर्गतको पेशा र व्यवसाय गर्न पाउने हकलगायतका स्वतन्त्रताको हकमाथि गम्भीर आंच पुगेको जिकिर निवेदनमा गरिएको छ।

निवेदनमा मुलुकी अपराध संहिता २०७४ अनुसार कैद सजायको माग पनि गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्