Logo

चीनमा दुर्घटनाग्रस्त विमानमा रहेका सबै १३२ यात्रुको मृत्यु भएको पुष्टि



नान्निङ, १३ चैत । चीनमा गत सोमबारदेखि बेपत्ता भएको यात्रु बाहाक विमानमा रहेका सबै १३२ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ ।
घटना लगत्तै घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो सङ्ख्यामा उद्धारकर्ताहरूका परिचालन गरिए पनि विमानको ब्याकबक्स मात्रै फेला परेको छ ।
चाइना इस्टर्न एयरलाइन्सको विमान गत सोमबार दक्षिणी चीनको गुआन्छी झुआङ् क्षेत्रमा बेपत्ता भएको थियो । घटना भएको छैटौँ दिन शनिबार उद्धारकर्ताले घटनामा परेका सबै यात्रु मृत्यु भएको घोषणा गरेका हुन् ।
“बेपत्ता भएको विमानमा रहेका सबैको मृत्यु भएको छ, कोही पनि जीवितै भेट्न सकिएको छैन, यो अत्यन्त दुःखद खबर हो,” चिनियाँ नागरिक उड्डयन प्रशासनका उपप्रमुख हु झेन्जीयाङले भने ।
घटनामा परी मृत्यु भएका मध्ये १२३ जना यात्रु र नौ जना चालक दलका सदस्य रहेको पनि उनले स्पष्ट पारे ।
घटनास्थलमा खोजी तथा उद्धारका लागि चिनियाँ कम्युनिष्ट पार्टी र राज्य परिषद्को सिफारिसमा अग्नि नियन्त्रक, सशस्त्र प्रहरी, सैन्य अधिकारी, सार्वजनिक सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयमसेवकहरु लगायत खटिएका थिए ।
घटनामा मृत्यु भएका मध्ये १२० जनाको डिएनए परीक्षण गरी पहिचान भइसकेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।
दक्षिणपश्चिमी चिनियाँ प्रान्त युनानको राजधानी कुन्मीङदेखि गुन्डोङ प्रान्तको राजधानी गोन्झाउ तर्फ जार्दै गरेको बेला विमान बेपत्ता भएको हो । स्थानीय समय अनुसार सोमबार दिउसो २.३८ बजे विमान बेपत्ता भएको अधिकारीहरूले जनाएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्