श्रीनगर, १८ चैत । काश्मिरको भारत नियन्त्रित क्षेत्रमा विवाहका सहभागीहरूलाई बोकेर गुडिरहेको गाडी दुर्घटनामा परी कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ ।
भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरबाट करीब १४७ किलोमिटर दक्षिणपश्चिममा पुन्च जिल्लाको बाफियाज क्षेत्रमा गाडी अनियन्त्रित भइ बिहीबार साँझ गहिरो खोल्सामा खसेको र उक्त घटनामा वैवाहिक कार्यक्रम गएका व्यक्तिहरूको निधन भएको हो ।
“गत साँझ विवाह भोजमा सहभागी मानिसहरूलाई गाडीको सीट क्षमताभन्दा बढी लिएर गुडिरहेको समय उक्त सवारी साधन पहाडी बाटोबाट करिब ३०० फिट गहिरो खोल्सामा खसेको थियो ।
एक प्रहरी अधिकृतका अनुसार छ जना घटनास्थलमा र अन्य तीन जनाको अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
“दुर्घटनामा चालकसहित अन्य चार जना गम्भीर घाइते भएका र उनीहरूको अस्पतालमा भर्ना गरी उपचार भइराखेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घुमाउरो बाटो काट्दै गर्दा चालकले गाडीमाथि नियन्त्रण गुमाएको बताइएको छ । नौ जना यात्रुको क्षमता भएको उक्त गाडीमा १३ जनाले यात्रा गरिरहेको बुझिएको प्रहरी स्रोतले बताएको छ ।
दुर्घटना लगत्तै स्थानीयवासी र प्रहरीले घटनास्थलबाट मृत शरीर तान्न र घाइतेको उद्धारको प्रयास शुरु गरेको प्रहरीले बताएको छ । भारतमा अक्सर क्षमताभन्दा बढी भार लिएर सवारी साधन सडकमा गुड्नु, सडकको खराब अवस्था र चालकको लापरवाहीका कारण दुर्घटना हुनेगर्छ । रासस