Logo

बिरामीको मृत्यु भएपछि कैलालीको अत्तरियामा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार



कैलाली, १९ चैत । कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित पद्मा अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोसित समूहले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको छ ।

अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास प्रयोग गर्नुपरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले थप क्षति हुन नदिन धनगढीबाटसमेत घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको बताए ।

उनले भने, “आक्रोशित तोडफोडमा उत्रिएपछि भीडलाई तितरवितर गर्न अश्रुग्यास प्रयोग गर्नुप¥र्यो, स्थिति प्रहरीको नियन्त्रणमै छ ।” तोडफोडबाट अस्पतालको भ्यान, एम्बुलेन्स र भवनको सिसामा क्षति पुगेको छ ।

सो अस्पतालमा गएराति उपचारार्थ भर्ना भएका गोदावरी नगरपालिका–३ का ३७ वर्षीय विनोदकुमार बोहराको उपचारका क्रममा आज बिहान मृत्यु भएपछि बिरामीका आफन्त आक्रोशित भएको जनाइएको छ । रासस/Filephoto



प्रतिक्रिया दिनुहोस्