Logo

प्रधानमन्त्री देउवाद्वारा वाराणसीमा वृद्धाश्रम शिलान्यास



वाराणसी, २० चैत । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरेका छन् ।

सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थिति थियो ।

नेपाल सरकारले वृद्धाश्रमका निम्ति रु एक करोड विनियोजन गरेको छ । यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ । नेपालबाट तीर्थयात्रामा यहाँ आउनेहरुका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो । उक्त भवनमा ३५ कोठा रहनेछन् । भवन नेपाली शैलीको हुने जनाइएको छ । पुरातत्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ ।

यसैबीच प्रधानमन्त्री देउवाको सम्मानमा मुख्यमन्त्री आदित्यनाथले आज यहाँ दिवाभोजको आयोजना गरे । त्यसअघि उनीहरुबीच पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

प्रधानमन्त्री देउवा आजै अपराह्न यहाँबाट नयाँदिल्लीका लागि प्रस्थान गर्नुहुनेछ भने साँझ नयाँदिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ । रासस



प्रतिक्रिया दिनुहोस्