Logo

बागलुङमा गठबन्धन गर्ने पाँच दलको निर्णय



गलकोट, २० चैत । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने बागलुङका पाँच दलले निर्णय गरेका छन् । केन्द्रमा रहेको पाँच दलीय गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादीले जिल्लाअन्तर्गत स्थानीय तहको निर्वाचनमा मिलेर जाने निर्णय गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सभापति जीत शेरचनले जानकारी दिनुभयो ।केन्द्रको गठबन्धनअनुसार मिलेर चुनावमा जान जिल्ला तहमा सैद्धान्तिक निर्णय गरिएको माओवादीका जिल्ला इन्चार्ज वलावती शर्माले बताए ।आज सम्पन्न पाँच दलीय बैठकले प्रत्येक पार्टीबाट दुई जनाका दरले दस जनाको उच्चस्तरीय संयन्त्र गठन गर्ने र उम्मेदवार तथा भागबन्डाको टुङ्गो सोही संयन्त्रले गर्ने नेकपा एकीकृत समाजवादीका नेता रामजीप्रसाद शर्माले बताए ।

कांग्रेसको घरदैलो र एमाले तथा माओवादीको कोणसभा

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै बागलुङका ठूला राजनीतिक दलले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । जिल्लामा सत्तारूढ दल नेपाली कांग्रेसले घरदैलो कार्यक्रमलाई अघि बढाएको छ ।

यस्तै नेकपा एमाले तथा माओवादी केन्द्रले गाउँमा आमभेला तथा कोणसभामा गर्न थालेका छन् । कांग्रेसले अहिले घरदैलो कार्यक्रमलाई अन्तिम चरणमा पु¥याएको पार्टीका जिल्ला सभापति जीत शेरचनले बताए । उसभापतिले घरदैलो कार्यक्रम सकेपछि उम्मेदवारी छनोटमा लाग्ने उहाँको भनाइ थियो । ‘घर घर जाऔँ कांग्रेसलाई जिताऔँ’ भन्ने हाम्रो नाराअनुसार घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको छ । सभापति शेरचनले भने, “उम्मेदवारी सिफरिसमा छलफल भइरहेको छ, अब लगत्तै दोस्रो चरणमा गाउँमा केन्द्रित अभियान सञ्चालनको तयारीमा छौँ, अब कांग्रेस आमसभामा केन्द्रित हुनेछ ।”

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचन कार्यक्रमलाई गति दिन जनतासँग भेटघाट सकेर कोणसभा गर्ने तयारीमा लागेको छ । उक्त दलले टोल–टोलसम्म पहिलो चरणको निर्वाचन केन्द्रित अभियान सकेको जिल्लाका प्रचार विभाग प्रमुख चन्द्रप्रकाश शर्माले बताए । पहिलो चरणको घरदैलो, कोणसभा तथा जनभेटघाट सकिएको छ, दोस्रो चरणमा चुनाव केन्द्रित अभियानका विषयमा पुनः जिल्ला कमिटी बैठक बस्ने तयारी छ, बैठकको निर्णयपछि पुनः एमाले गाउँ फर्कनेछ । उनका अनुसार केन्द्रीय कमिटी जिल्लामा, प्रदेश कमिटी पालिकामा र जिल्ला कमिटी वडामा केन्द्रित हुनेगरी मापदण्ड बनाएर अगाडि बढ्ने एमालेको रणनीति रहेको छ ।

माओवादीले पनि निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएको छ । उक्त दलले कोणसभा गर्दै अगाडि बढेको नगर कमिटी सचिव राजु खड्काले बताए । यस्तै बागलुङमा राम्रो प्रभाव रहेको राष्ट्रिय जनमोर्चाले पनि चुनावी अभियानलाई तीव्र गति दिएको छ । बागलुङमा ठूला र साना गरी १९ दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्