Logo

नेपालको जीडीपी ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण



काठमाडौं, २३ चैत । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) चालु आर्थिक वर्षमा ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

मंगलबार एसियाली विकास बैंक (एडीबी) ले सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक २०२२’ मा कोभिड १९ विरुद्धको खोपमा पहुँच बढेकाले अर्थतन्त्र सामान्यतर्फ फर्किएको बैंकले जनाएको छ ।

विकसित देशहरुमा अर्थतन्त्र सुस्त भएका कारण पर्यटन क्षेत्र सुधारमा विलम्ब हुने देखिए पनि वृहत आर्थिक नीतिहरु अनुकुल भएमा प्रक्षेपण अनुसारको आर्थिक वृद्धि हुनसक्ने एडीबीले उल्लेख गरेको छ । गत आर्थिक वर्षमा भने नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत रहेको थियो ।

तर, गत आर्थिक वर्षमा २.४ प्रतिशत रहेको कृषि क्षेत्रको वृद्धिदर यस वर्ष १.३ प्रतिशतमा सीमित हुने एडीवीले प्रक्षेपण गरेको छ ।

यस वर्ष औसत उपभोक्ता मूल्यवृद्धि दर ६.५ प्रतिशत रहने प्रक्षेपण छ ।

एडीबीका अनुसार नेपाल सरकारका लागि निर्यात बढाउने र व्यापार घाटा कम गर्ने नीतिगत चुनौतीका रुपमा रहेका छन् ।

नेपालसँग ताजा र प्रशोधित कृषि उत्पादन निर्यातको सम्भावना धेरै भएपनि भौगोलिक दुर्गमता र बजारको पहुँचमा कमीले गर्दा निराशाजनक रहेको एडीबीको भनाई छ ।

साथै, पूर्वाधार अभावले समस्या झन जटिल बनाएको छ । उदाहरणका लागि, नेपाल विश्वको चौथो ठूलो अदुवा उत्पादक देश हो । विश्वव्यापी अदुवा उत्पादनको ९ प्रतिशत हिस्सा नेपालले ओगटेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot