काठमाडौं, चैत २४ । नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आइपुगेको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको आमन्त्रणमा ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरु नेपाल आएका हुन् ।
आज मध्याह्न नेपाल आइपुगेका ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो । कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत सेफ साहसहितको टोलीलाई नेपाल बोलाएर मौलिक खाना संस्कृति र गन्तव्य प्रवद्र्धनमा सहभागि गराइने पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सिइओ सुरेशसिंह बुडालले बताए ।
बीबीसी मास्टर सेफका चर्चित सेलिब्रेटी सेफलाई नेपाल भ्रमण गराई गन्तव्यको प्रचारप्रसार तथा मौलिक खाना र संस्कृतिको प्रवद्र्धन गर्न पाटाले गरेको पहलले महामारीपछिको पर्यटन पुनरुत्थानमा विशेष सहयोग हुने विश्वास लिइएको छ ।
पाटाका सिइओसहितका पदाधिकारी, पर्यटन सम्बद्ध क्षेत्रका विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधि, सेफ एशोसिएशन र हस्पिटालिटीका विद्यार्थीले विमानस्थलमा सेफ साहसहितको टोलीलाई भव्य स्वागत गरेका थिए । तस्विरः पर्यटन बोर्ड