दमौली, २७ चैत । वर्षौँदेखि लालपुर्जाविहीन अवस्थामा रहेका भूमिहीनलाई तनहुँका पालिकाले निस्सा वितरण गर्न थालेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा यहाँका दुई पालिकाले भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेका हुन् ।
शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकाले सबै वडाका भूमिहीनलाई निस्सा वितरण सुरु गरेका छन् । शुक्लागण्डकी नगरपालिकाले राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा शुक्लागण्डकी–७ शान्तिनगरबाट निस्सा वितरण सुरुआत गरेको हो ।
शुक्लागण्डकी–७ का ९३० भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीले लालपुर्जा प्राप्त गर्नका लागि निवेदन दिएका थिए । तीमध्ये ८६६ भूमिहीनको विवरण प्रविष्ट गरिएकामा पहिलो चरणमा २४७ लाई निस्सा वितरण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत लीलाबल्लभ न्यौपानेले जानकारी दिए । निस्सा वितरणसँगै लालपुर्जाको प्रक्रिया सुरु भएको उनले बताए ।
नगरपालिकाका १२ वटै वडाबाट चार हजार ४०३ भूमिहीनको निवेदन सङ्कलन भएको छ । यहाँका भूमिहीन विगत लामो समयदेखि लालपुर्जा पाउने आशामा बसिरहेका छन् । पटक–पटक बनेको भूमि आयोगले लालपुर्जाका लागि निवेदन सङ्कलन गरे पनि सरकार परिवर्तनसँगै आयोगका पदाधिकारी फेरबदल हुँदा उनीहरुले लालपुर्जा पाउन सकेका छैनन् ।
बन्दीपुरले पनि भूमिही सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेको छ । वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपुर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत गाउँपालिकाले निस्सा वितरण सुरु गरेको हो ।
राष्ट्रिय भूमि आयोगसँग भएको सम्झौताबमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गाको निस्सा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उनका अनुसार बन्दीपुर–१ बाट निस्सा वितरण थालिएको छ । उक्त वडाका ७४ जनालाई निस्सा वितरण गरिएको र सबै वडामा निस्सा वितरण गरिने उनले बताए ।
यसैगरी बन्दीपुर–४ र ५ का १३० भूमिहीनलाई निस्सा वितरण गरिएको छ । अध्यक्ष थापाका अनुसार गाउँपालिकाका छवटै वडामा करिब ३२५ भूमिहीनलाई निस्सा वितरण गरिनेछ । “भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्नका लागि निस्सा वितरण गरेका हाँै, निस्सा दिएपछि अब लालपुर्जा पनि पाइन्छ भन्ने स्थानीयवासीलाई हौसला दिएका छौँ”, उनले भने । निस्सा वितरणकै आधारमा अब जग्गाको नापजाँच प्रक्रिया अगाडि बढ्ने भएकाले उनीहरुले लालपुर्जा पाउने पक्का भएको अध्यक्ष थापाले बताए ।
चार स्रष्टा सम्मानित
शुक्ला साहित्य सङ्गम तनहुँले विभिन्न विधामा चार स्रष्टालाई सम्मान गरेको छ । तनहुँको शुक्लागण्डकीस्थित दुलेगौडामा शनिबार आयोजित कार्यक्रममा विभिन्न विधाका चार स्रष्टालाई सम्मान गरिएको हो ।
शुक्ला विशिष्ट सम्मानबाट कास्कीका साहित्यकार एवं प्राज्ञ रमेश श्रेष्ठ पुरस्कृत भएका छन् । उनलाई नगद रु १५ हजारसँगै सम्मानपत्रले पुरस्कृत गरिएको छ । शुक्ला पुरस्कारबाट झापाका साहित्यकार जनार्दन दाहाललाई पुरस्कृत गरिएको छ । उक्त सम्मानको राशि रु १० हजार रहेको छ ।
शुक्ला प्रतिभा पुरस्कार तनहुँका साहित्यकार अनिल श्रेष्ठ र र शुक्ला पूर्ण बाल प्रतिभा पुरस्कार तनहुँका अनुप लामिछानेलाई प्रदान गरिएको छ । शुक्ला प्रतिभा पुरस्कारको राशि रु पाँच हजार र शुक्ला पूर्ण बाल प्रतिभा पुरस्कारको राशि रु दुई हजार ५०० छ ।
स्रष्टाहरुलाई वरिष्ठ साहित्यकार एवं प्राज्ञ सरुभक्त श्रेष्ठ, शुक्ला साहित्य सङ्गमका कार्यवाहक अध्यक्ष रामशरण गैरे र सङ्गमका संरक्षक शेषमणि आचार्यले सम्मान गरेका हुन् । संस्थाले नेपाली साहित्यको क्षेत्रमा योगदान पु¥याएका स्रष्टालाई सम्मान गर्दै आइरहेको पूर्वअध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । सङ्गमले हरेक दुई वर्षका अवधिमा यो पुरस्कार प्रदान गरिरहेको छ ।
रु तीन लाखको अक्षयकोष स्थापना गरी पुरस्कृत गर्न थालिएको बताइएको छ । संस्थाले यसअगाडि शुक्ला विशिष्ट पुरस्कार कवि तथा साहित्यकार डा रामप्रसाद ज्ञवाली, शुक्ला पुरस्कार साहित्यकार धीरेन्द्र प्रेमर्षी, शुक्ला प्रतिभा पुरस्कार कवि जगन्नाथ पौडेल र सुष्मा सिग्देल तथा शुक्ला बाल प्रतिभा पुरस्कार अमृत ढकाललाई प्रदान गरेको थियो । सोही अवसरमा सम्मानित स्रष्टा जनार्दन दाहालको गजल सङ्गह ‘यी मान्छे यी नजर’ विमोचन गरिएको छ । दाहालको चौथो कृतिमा ८५ गजल समावेश छ ।